Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

अदालतमा दुर्गा प्रसाईँलाई उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौं प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
बुधबार उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । सर्वोच्चले जारी गरेको आदेशमा बन्दीसहित उपस्थित हुन भनिएको छ । यसअघि पनि प्रसाईलाई रिहा गर्न माग गर्दैै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । तर, त्यतिबेला प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै सर्वोच्चले निवेदन नै खारेज गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा करोडौं रुपैंयाँ लगानी गरेको आरोप लगाएका प्रसाईँलाई साइबर अपराधको अरोपमा केही साताअघि उनकै निवास भक्तपुरबाट पक्राउ गरिएको थियो ।

उक्त पक्राउ प्रकरणका विषयमा उनका छोरा निराजनले सर्वोच्चमा रिट दायर गरेका थिए । तर, रिट खारेज भएको थियो । रिट खारेज भएपनि त्यसको केहीदिनपछि सर्वोच्चले प्रसाईलाई ४० हजार रुपैंयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, प्रसाईमाथि अर्को आरोपमा पनि अनुसन्धान भइरहेका कारण उनी रिहा भएका थिएनन् । उनीमाथि आपराधिक विश्वासघातको आरोपमा अहिले अनुसन्धान भइरहेको छ । र, अहिले सोही आरोपमा उनी प्रहरी हिरासतमा रहेका छन् । उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने गरेको आरोप उनीमाथि छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रसाईले व्यवसायीलाई भारतीय गुण्डा नाइकेको नाममा धम्क्याउने गरेको निष्कर्ष निकालेको बुझिएको छ ।

व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयालले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएको प्रहरी स्रोतको भनाई छ । स्रोतका अनुसार फुँयालले बयानका क्रममा धम्क्याउने प्रयोजनको लागि आफूलाई दुर्गा प्रसाईंले ५ लाख दिएको बताएका छन् । तर, यता प्रसार्ईंले भने बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ ।
प्रधानमन्त्रीबिरुद्धको साइबर अपराधमा अदालतबाट धरौटीमा रिहाको आदेश पाएपनि प्रसाईँ अहिले भारतीय गुण्डा नाइकेसँगको साँठगाँठको आरोपमा हिरासतमा रहेका हुन् । तर, उक्त आरोप अस्विकार गर्दै आफ्ना बुबालाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी सहित प्रसाईका छोरा सर्वोच्च पुगेका हुन् । प्रसाईका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन् । सर्वोच्चले छोरा निराजनको रिटमाथि सुनुवाइ गर्दै प्रसाईँलाई अदालतमा नै उपस्थित गराउँन आदेश आदेश दिइसकेपछि अब प्रसाईका बारे कस्तो आदेश हुन्छ भन्ने थप कौतुहलता बढेको छ । प्रसाईँ छुट्न सक्ने आँकलन केहीले गरेका छन् भने केहीले त्यो सम्भावना नभएको बताएका छन् ।

प्रसाईका पक्षमा वकालत गर्दै आएका अधिवक्ताहरुले उनलाई अदालतले रिहा गरिदिनेमा आफूहरु विश्वस्त रहेको बताउने गरेका छन् भने प्रसाइ इतरका अधिवक्ताहरुले कुनैपनि हालतमा प्रसाई रिहा नहुने दाबी गरेका छन् । दाबी सबैका आ आफ्नै रहेपनि प्रसाईको विषय अदालती विषय भएका कारण अब केही समयमा यसको छिनोफानो हुने भने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार