Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रवि सुतेको भनिएको फोटोको वास्तविकता के हो ?


रास्वपा सभापति रवि लामिछानेको हिरासत सुताई भन्दै अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ । रास्वपा केन्द्रीय सदस्य तथा रवि लामिछानेका अति निकटतम नेता दीपक बोहोराले नै सामाजिक सञ्जाल फेसबुकमा रवि दाईको फोटो भनेर लेखेपछि रास्वपाका नेता कार्यकर्ताले यो फोटो भाइरल बनाएका हुन् । यद्यपि फोटोको वास्तविकताका विषयमा यसै भन्न सकिने अवस्था छैन । फोटो रविकै हो भन्नेमा अनेकन आशंका उब्जिएका छन् । सुतेको अवस्थाको सिसिटिभी फोटो प्रहरीले सार्वजनिक गर्नुलाई अन्यायको हद भन्दै रास्वपा नेता दिपक बोहोराले प्रश्न उठाइरहँदा फोटोको वास्तविकतामाथि नै प्रश्न उठ्ने प्रसस्त आधार देखिन्छन् ।

दीपक बोहोराले फोटो शेयर गर्दै लेखेका छन् : अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।

स्टाटस सहित दिपक बोहोराले शेयर गरेको यो फोटोमा सयौंले कमेन्ट गरेका छन् भने फोटोको वास्तविकतामाथि आशंका गर्ने पनि त्यत्तिकै छन् । राती सुतेको, ट्वाइलेट गएको जस्ता अति व्यक्तिगत तस्बीर प्रहरीले कैद गर्न मिल्छ भन्दै प्रश्न गर्नेदेखि लिएर अरु नै कसैको फोटो गुगलबाट तानेर रवि दाईको भन्दै भाइरल गर्न खोज्नेलाई कारबाही गर्नुपर्छ भन्ने सम्मका विचारले यतिबेला सामाजिक सञ्जाल भरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका फरक फरक विचार सहित भाइरल बनिरहेको यो तस्बीरबारे सरकारी निकायले भने केही बोलेको छैन । रास्वपाकै जिम्मेवार नेताले रवि दाईको फोटो भन्दै फेसबुकबाट स्टाटस सहित श्यर गरेपछि सरकारी निकायको पनि धारणा आउन सक्ने अनुमान गर्न सकिन्छ । केही समयपहिले रवि लामिछानेमाथि हिरासतमा अभद्र व्यवहार भएको भन्ने स्टाटस सामाजिक सञ्जाल र केही अनलाईनमा व्यापक भएपछि कास्की प्रहरीले त्यसलाई अस्विकार गर्दै विज्ञप्ती नै निकालेको थियो । त्यसैलाई आधार मान्दा पनि लामिछानेको भनिएको पछिल्लो फोटोबारे प्रहरीको विज्ञप्ती आउन सक्ने अनुमान गरिएको हो ।

अब रवि लामिछाने प्रहरी हिरासत कक्षमा सुतेको भन्दै भाइरल भएको फोटोप्रति व्यक्त भएका आशंकाबारे चर्चा गरौ । फोटो हेर्दा एउटा पलंगमा सिरक ओढेर कोही व्यक्ति ऊनीको टोपी सहित मस्त निन्द्रामा रहे जस्तो देखिन्छ । उसले लगाएको टोपीको बनोट मुस्लिम समुदायले प्रयोग गर्ने टोपी जस्तो छ । पलंगमुनी एक जोडी चप्पल छ । सँगै टेबुलमा असरल्ल केही थान पुस्तक देखिन्छन् । झ्याल साइडमा टिस्यु पेपर, मिनरल वाटरको बोत्तल र चियाको बट्टा देखिन्छ । पुस्तक नेपाली भाषाका जस्ता छैनन् । कतिपयले सामाजिक सञ्जालमा नै ती पुस्तक उर्दु भाषाको भएको आशंका गर्दै सुतेको व्यक्ति नै रवि नभएको दाबी गरेका छन् । तर, टोकला चियाको झैं देखिने चियाको बट्टाले भने हो कि क्या हो भन्नेहरुलाई बल पु¥याएको छ ।

फोटो रविको हो या होइन यो कुरा भोलिका दिनमा थाहा होला । तर, रविकै फोटो रहेछ भनेपनि यो फोटो सार्वजनिक भएपछिका सकारात्मक र नकारात्मक दुबै पाटा छन् । राती सुतेको फोटो सार्वजनिक गर्नु ठिक होइन यो गलत भयो, सुत्दा मान्छे कपडा नलगाई पनि सुतेको हुन सक्छ त्यस्तो फोटो पनि निकिालिदिने भन्ने कोणबाट एकाथरीले भन्न सक्लान् । तर, रविमाथि हिरासतमा अभद्र व्यवहार भएको, राम्रोसँग खान सुत्न नदिएको, डायरी नै प्रहरीले लगेको जस्ता कुरा बाहिर आइरहँदा यदि यो फोटो उनको हो भने भन्न सकिन्छ हिरासतमा पनि रविको बसाई सानदारको रहेछ । हिरासतमा कयौं अभियुक्तहरु चिसो छिँडिमा सुत्न बाध्य हुँदा उनलाई बाक्लो सिरक, तन्ना, सिरानी दिइएको रहेछ । अनि फोटो रविकै हो भने भन्न सकिन्छ रविको डायरी प्रहरीले जफत गरेको आरोप लगाइरँदा उनी बसेको कोठाको टेबुलमा किताबको चाङ रहेछ । तस्बीर रविकै हो या होइन त्यो चाहिँ अलग कुरा हो ।


प्रतिक्रिया दिनुहोस !
विचार