Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रवि सुतेको फोटो मैले खिचेको भन्दै डा. निकोलशले मागे माफी


रास्वपा सभापति रवि लामिछाने जस्तै देखिने व्यक्ति सुतिरहेको फोटो भाइरल भइरहेका बेला लामिछानेका समर्थक डा. निकोलश भुसालले माफी मागेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो आफूले खिचेको भन्दै भुसालले यसबाट जो कोहीमा पर्न गएको असरका लागि माफी मागेका हुन् । लामिछाने जस्तै देखिने व्यक्ति सुतेको फोटो हिजोदेखि सामाजिक सञ्जालमा भाइरल भइरहको छ ।

फोटो हेर्दा एउटा पलङ्मा सिरक ओढेर कोही व्यक्ति ऊनीको टोपी सहित मस्त निन्द्रामा रहे जस्तो देखिन्छ । उसले लगाएको टोपीको बनोट मुस्लिम समुदायले प्रयोग गर्ने टोपी जस्तो छ । पलंगमुनी एक जोडी चप्पल छ । सँगै टेबुलमा असरल्ल केही थान पुस्तक देखिन्छन् । झ्याल साइडमा टिस्यु पेपर, मिनरल वाटरको बोत्तल र चियाको बट्टा देखिन्छ । पुस्तक नेपाली भाषाका जस्ता छैनन् । तर, टोकला चियाको झैं देखिने चियाको बट्टा टेबुलसँगै रहेको देखिन्छ ।

हिरासतमै रहँदा रवि लामिछाने सुतेको अवस्थाको फोटो खिचेर प्रहरीले सार्वजनिक गरेको भन्दै रास्वपाका नेता कार्यकर्ता तथा रवि लामिछानेसँग असाध्यै निकट रहेका दीपक बोहोराले सामाजिक सञ्जालमार्फत आपत्ति व्यक्त गरेका बेला उक्त फोटोको जिम्मा डा.निकोलश भुसालले लिएका हुन् । रवि लामिछानेको फोटो आफूले खिचेको बताउँदै उनले यसमा कुनै खराब नियत नभएको भन्दै गल्ती महसुस गरी माफी मागेका छन् ।

डा.भुसालले दुई दिन अघि नै उक्त फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ । फोटो फेसबुकमा राख्दै बोहोराले फेसबुकमा यस्तो लेखेका थिए :

अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।

बोहोराले यो स्टाटस लेखेपछि यतिबेला फोटो भाइरल भएको छ । उनले फोटो सहितको स्टाटस सामाजिक सञ्जालमा शेयर गरेपछि केहीले आशंकायुक्त प्रतिकृया जनाएपछि आज बिहान मात्रै बोहोरा फेसबुक लाइभमा आएर उक्त फोटो रवि लामिछानेकै भएको दाबी गरेका छन् । यता डा.निकोलश भुसालले फोटो खिचेर अपलोड गरेको स्विकार गरिरहँदा उता प्रहरीले भने फोटोको वास्तविकताका विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

फोटो आफूले खिचेको स्विकार गर्दै प्रहरी र सरकारसँग एक भिडियोमार्फत माफी मागेका डा. भुसालले भनेका छन् ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ, यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’ आफू रवि लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताउँदै उनले भनेका छन्:

रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको हुँ । मैले भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि फोटो खिचेर सार्वजनिक गरेको होइन ।

गृहमन्त्री भइसकेको व्यक्तिको हिरासत बसाईका बारेमा मान्छेहरुमा चासो हुने ठानेर आफूले रवि लामिछानेको वास्तविकता बताउँन फोटो खिचेको भन्दै उनले यसमा सम्पूर्ण दोषी आफैं रहेको बताएका छन् ।

डा.भुसालले हिरासतभित्र सुतेको अवस्थामा रवि लामिछानेको फोटो खिचेको स्विकारेपछि अब उनीविरुद्ध प्रहरीले कस्तो कदम लिन्छ भन्ने यतिबेला चासोको विषय भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार