Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविको अर्को फोटो काण्ड, किन गराइयो गुपचुप ?


हिरासतमा रहेको व्यक्तिको फोटो खिच्नु आपत्तिजनक र गैह्रकानुनी भन्दै रास्वपा सभापति रवि लामिछानेको भाइरल एउटा फोटोका विषयमा अनेकन चर्चा परिचर्चा भइरहँदा स्वयं रवि लामिछानेले हिरासतमै रहेका अर्का एक व्यक्तिको फोटो खिचेको विषय भने खास चर्चामा छैन । हुन त घटना अलि पुरानो भएका कारण पनि यो विषय चर्चामा नरहेको हुन सक्छ । तर, हिरासतमा रहेका व्यक्तिको फोटो लिनु कानुनी दृष्टिले गलत भनिरहँदा केहीले भने २०७९ भदौ पहिलो साता रवि लािमछानेले हिरासतमा रहेका अर्का व्यक्तिसँग खिचेको फोटो झल्झली सम्झिरहेका छन् ।

रवि लामिछाने भर्खर भर्खर राजनीतिमा प्रवेश गरेको समय थियो त्यो । टेलिभिजन छाडेर उनले पार्टी खोलेको दुई महिना पुग नपुग भएको थियो । त्यही समयमा काठमाडौंको छाया सेन्टरमा एउटा लफडा मच्चियो । तत्कालिन पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई छाया सेन्टरमा एकजना गार्डले लाइन नबसी अघि बढ्न खोजेको भन्दै रोकेको र उनी प्रहरी नियन्त्रणमा रहेको भन्ने कुरा बाहिरियो । मन्त्रीमाथि दुव्र्यवहार गरेको आरोपमा ती गार्ड प्रहरी अनुसन्धानका लागि हिरासतमा परे । उनी हिरासतमा रहेकै अवस्थामा रवि लामिछाने भेट्नका लागि हिरासत मात्रै गएनन् हिरासतमा परेका ती व्यक्तिसँग फोटो खिचेर सार्वजनिक नै गरे । हिरासतमा रहेको व्यक्तिसँग फोटो खिचेर सार्वजनिक गर्नु कानूनी दृष्टिमा गलत हो । कानूनले त्यसो गर्न दिँदैन । तर, अहिले हिरासतमा परेका लामिछानेको फोटो खिच्दा कानुन र मानवअधिकारका कुरा व्यापक रुपमा उठेपनि रवि लामिछानेले त्यतिबेला कानुनको उल्लंघन गर्दा यो विषय त्यसरी उठेन । अहिले हिरासतमा रहेका व्यक्तिको फोटो खिचेर सार्वजनिक गर्नेमाथि कारबाही नै गर्ने विज्ञप्ती निकालेको प्रहरीले त्यतिबेला भने रविमाथि कारबाही त के सामान्य सोधपुछ पनि गरेको सुनिएन ।

रवि लामिछानेले हिरासतमा रहेका सुरक्षाकगार्ड शेरजंग गुरुङलाई त्यतिबेला हिरासत कक्षबाट बाहिर निकालेर प्रहरी कार्यालयको प्रतिक्षा कक्षमा फोटो खिचेका थिए । उक्त फोटो खिचेको केही समयपछि लामिछानेले आफ्नो फेसबुकमा फोटो पोष्ट गर्दै शेरजंग गुरुङलाई भेटेर धन्यवाद दिएको उल्लेख गरेका थिए । शेरजंग गुरुङले मन्त्रीलाई लाइनमा बस्नुस् किन नबसेको भनेर भन्नु धन्यवादको विषय भएपनि प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा लगिसकेपछि त्यहिँ गएर फोटो खिच्नु कानुनको बर्खिलाप थियो । तर, रवि लामिछानेका हकमा उनलाई कानुनले छोएन । बरु त्यही फोटोले उनको राजनीतिक यात्रामा लाभ मिल्यो । कतिपयले नेता भनेको रवि जस्तो हुनुपर्छ भन्दै वाहवाही गरे । रविलाई उक्त फोटो प्रकरणमा कानुनको क पनि आकर्षित भएन तर, प्रहरी निरिक्षक विकास तामाङको जिम्मेवारी भने खोसियो । रवि लामिछानेलाई फोटो खिच्न दिएको भन्दै प्रहरी निरिक्षक तामाङको जिम्मेवारी खोसिएको थियो ।

रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिसँगै फोटो खिच्दा उतिबेला कुनै कारबाही भएन । तर, अहिले रवि लामिछाने हिरासतमा रहँदा खिचेको फोटोका कारण फोटो खिच्नेमाथि कारबाही हुने देखिएको छ । प्रहरीले विज्ञप्ती नै निकालेर कारबाहीको चेतावनी दिएपछि कारबाही हुँदैन भन्ने कुरै छैन । फोटो खिच्नेदेखि लिएर डिउटीमा खटिएका प्रहरी सम्मले कारबाही भोग्नुपर्ने देखिन्छ । फोटो खिच्ने र खिच्नदिने दुबैमाथि कारबाहीको आवाज उठेपनि उतिबेला रवि लामिछानेका मामलामा त्यस्तो केही भएन । बरु रविको वाहवाही भयो उनीमाथि कानुन उल्लंघनको चुँइक्क आवाज कहिँ कतै उठेन । कागजमा सबैलाई कानुन बराबर भनिएको छ । तर, व्यवहारमा ठूलाबडाका लागि एउटा र अरुका लागि अर्को झैं देखिन्छ । हिरासतमा रहेका व्यक्तिको फोटो खिच्नुलाई अहिले जसरी भयंकर अपराध झै गरी रास्वपाका नेता कार्यकर्ताले आवाज उठाए त्यतिबेला आफ्नै पार्टीका सभापतिले हिरासतमा बसेका व्यक्तिको फोटो खिच्दा एक शब्द पनि बोलेनन् । आफ्नाले जे गर्दा पनि ठिक अर्काले गर्दा चाहिँ बेठिक ? यसको अर्थ कुनैबेला हिरासतमा रहेका अर्का व्यक्तिको फोटो रवि लामिछानेले खिेचका कारण अहिले उनको फोटो पनि अरुले खिच्न पाउनुपर्छ भन्ने होइन । त्यो पनि गलत थियो र यो पनि गलत छ ।


प्रतिक्रिया दिनुहोस !
विचार