राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनको अवस्थामा पुगेपछि रास्वपामा रवि लामिछानेको विकल्प सोच्ने या के गर्ने भन्ने विषयले खैलाबैला मच्चिएको छ । लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धिकरणको मुद्दा पनि दायर भएपछि उनको सांसद पद निलम्बनको अवस्थामा पुगेको छ भने निलम्बित सांसदलाई नै सभापतिका रुपमा स्विकार्ने या अरु कोही कसैलाई अघि सार्ने भन्ने विषयमा रास्वपाका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । यद्यपि रवि लामिछानेलाई अदालतले नै दोषी नभनेसम्म मुद्दा दायर भएकै आधारमा लामिछानेको विकल्प खोज्न नहुने मत पार्टीभित्र बलियो देखिन्छ । बरु मुद्दा दायर हुनेबित्तिकै लामिछानेको सांसद पन निलम्बनको प्रकृया अघि बढाइएकोमा यसको प्रतिवादमा उत्रनुपर्ने पक्षमा पार्टीका नेताहरु देखिन्छन् । केही नेताहरु भने लामिछाने पक्राउ परे लगत्तै शुरु गरिएको प्रतिशोधविरोधी आन्दोलन समेत सोचे जस्तो नभएका कारण अब यसबारे थप केही बोलिरहनुको अर्थ नहुने लाइनमा छन् । सम्पत्ति शुद्धिकरणको मुद्दा लागेपछि सांसद पद स्वतः निलम्बन हुने भन्ने कुरामा रास्वपाभित्र अहिले एकमत देखिदैन । केही नेताहरु कानुनको गलत व्याख्या गर्दै सरकारले सभापति लामिछानेको सांसद पदमा आँखा लगाएको दाबी गर्न थालेका छन् भने केही नेताहरु कानुनमा यस्तो व्यवस्था भएपनि अहिले बोल्दा पार्टीभित्रैबाट व्यापक आलोचना र फरक प्रकारको प्रहार खेप्नुपर्ने भएका कारण चुप लाग्ने मुडमा छन् ।
रवि लामिछानेको सांसद पद निलम्बनको विषयमा नै भित्रभित्रै दुई ध्रुबमा विभाजित भएको रास्वपाले लामिछानेलाई नै सभापति मानेर अघि बढ्ला या के गर्ला भन्ने आम कौतुहलता छ । कुनैबेला सांसद ढाकाकुमार श्रेष्ठलाई अडियो प्रकरणमा तत्कालै सांसद पद र साधारण सदस्यबाटै बर्खास्त गरेको रास्वपाले रवि लामिछानेका विषयमा भने अदालतको आदेश कुर्ने केहीको अनुमान छ । तर, रास्वपाका उपसभापति डिपी अर्यालले केही समयअघि पोखरामा गरेको भाषणलाई आधार मान्ने हो भने त रास्वपाले अदालतको जस्तोसुकै आदेश आएपनि सभापतिका रुपमा लािमछानेको विकल्प खोज्ने देखिदैन । त्यतिबेला डिपी अर्यालले भनेका थिए, रवि लामिछाने हिरासतमा, जेलमा या जहाँसुकै रहेपनि रवि लामिछाने बाचुञ्जेल हाम्रो सभापति उहाँ नै हो । रवि लामिछाने बाचुञ्जेल सभापति मान्ने भनेपछि डिपी अर्याल र अर्याले पक्षधरले रवि लामिछानेको विकल्प खोज्ने कुरै भएन । मनिष झा लगाएतको कुरा गर्ने हो भने सहकारी मामलमा रवि लामिछानेको संलग्नता देखिए राजनीति नै त्यागिदिने घोषणा संसद परिसरबाट दिइसकेका कारण झा र उनी निकटकाले पनि यसमा सोच्ने कुरा भएन । बाँकी रहेका धेरै नेताहरु लामिछानेका विषयमा आएका सहकारीका समाचार या भएका अनुसन्धान नै गलत थिए भन्ने जिकिरमा छन् ।
रास्वपामा अन्य थोरै नेता मात्रै छन् जो रवि लामिछानेमाथि अनुसन्धान हुनुलाई मनले गलत भन्दैनन् तर, यसमा मुख बाउन सक्दैनन् । यसअघि यो मामलमा मुख बाउन नसकेका तीनै नेताले मात्रै सभापतिको विकल्पबारे सोच्ने केहीको अनुमान छ । तर, रवि लामिछानेको विकल्पबारे सोच्दा पनि आँट गरिहाल्ने व्यक्ति तत्कालै देखिने सम्भावना छैन । पार्टीका उपसभापति डिपी अर्याल रवि लामिछाने बाँचुञ्जेल रवि नै सभापति भन्ने लाइनमा रहिरहँदा अर्का उपसभापति डा.स्वर्णिम वाग्लेको भने मौनता देखिन्छ । उनको मौनतामा केहीले सभापतिको आकांक्षा रहेको आशंका गरेका छन् । तर, कुरो सभापतिको मात्रै होइन, रास्वपा संसदीय दलको नेताको पनि हो । अहिले रास्वपा संसदीय दलको नेता रवि लामिछाने छन् भने संसदीय दलको उपनेताका रुपमा विराजभक्त श्रेष्ठ रहेका छन् । सभापति रवि लामछिाने पक्राउ परेपछिको समयमा संसदीय दलको बैठक विराजभक्तकै अध्यक्षतामा बसाल्न केहीले नसुझाएका होइनन् । तर, विराजभत्तल श्रेष्ठ यसमा सहमत नभएपछि कुरो त्यत्तिकै सेलाएको थियो । अब संंसदीय दलकै नेताको सांंसद पद नै निलम्बनमा भएपछि चाहिँ उनी संसदीय दलको कमाण्ड सम्हाल्न तयार होलान् या नहोलान् ? त्यो भने हेर्न बाँकी छ ।