रवि लामिछाने बाँचुञ्जेल रास्वपामा कार्यबाहक सभापति कोही नहुने र रवि लामिछाने नै आजिवन सभापति रहने भन्दै केही साताअघि पोखरामा भाषण गरेका रास्वपा उपसभापति डिपी अर्याल अन्ततः आफैंं कार्यबाहक सभापति बनेका छन् । रवि लामिछाने हिरासतमा त के जेलमा नै गएपनि उहाँ बाँचुञ्जेल रवि लामिछाने बाहेक कोही सभापति नहुने भन्दै पोखराका कार्यकर्ताहरुका माझमा चर्को भाषण गरेर वाहवाही पाएका अर्याल अवसर आउने बित्तिकै आफैं कार्यबाहक सभापतिका लागि तम्सिएका हुन् । आइतबार जिल्ला अदालत कास्कीमा रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धिकरणको मुद्दा दायर भएकै भोलिपल्ट रास्वपाले भर्चुअल बैठक बोलाएको थियो । सोही बैठकबाट डिपी अर्याल कार्यबाहक सभापति बनेका हुन् ।
दुई साताअघि मात्रै पोखरामा गएर रास्वपा कार्यकर्ताहरुलाई रवि लामिछाने आजिवन सभापति भनेको र अवसर आउने बित्तिकै कार्यबाहक सभापतिका लागि खुट्टो उचालिहालेको भन्दै अहिले सामजिक सञ्जाल प्रयोगकर्ताहरुले डिपी अर्यालका विषयमा ट्रोल बनाउन शुरु गरेका छन् । कतिपयले यसलाई रवि लामिछानेलाई डिपी अर्यालले दिएको धोका भनी टिप्पणी नै गरेका छन् । आफैं कार्यबाहक सभापति बन्ने रहर रहेछ त किन रवि लामिछाने बाँचुञ्जेल रास्वपामा कार्यबाहक सभापति हुँदैन र उहाँ बाँचुञ्जेल रास्वपामा अर्को कोही सभापति पनि बन्दैन भन्दै ठूला कुरा गरेको भन्नेहरु पनि त्यत्तिकै देखिएका छन् । तालीकै लागि ठाउँ अनुसार कुरा गर्ने प्रवृत्तिले रास्वपालाई कहाँ पु¥याउला भनेर प्रश्न गर्नेदेखि लिएर अस्ति बोलेको कुरा सम्झना छ भन्दै अर्याललाई सोध्नेहरु पनि छन् ।
रवि लामिछाने रिहाईका लागि पोखरामा भएको आन्दोलनमा उपसभापति डिपी अर्यालले कार्यकर्ता उचाल्न र रविको असली भक्त मै हुँ भन्ने देखाउन गर्नै नपर्ने उत्ताउलो भाषण गरेको केहीको बुझाई छ । डिपी अर्यालले आजिवन सभापति बनाउँछु भनेपनि फौजदारी कानुन आकर्षित भएको अवस्थामा त्यो सम्भव थिएन । रविमाथि लागेका मुद्दामा अदालतले दोषी ठहर गर्ला या त्यसमा सफाई देला यो भोलिको दिनको कुरा भयो । तर, अदालती आदेश जे जस्तो आएपनि रवि लामिछाने नै सभापति भन्ने डिपी अर्यालको त्यो भाषणमा तालीको आशा भन्दा बाहेक अरु के थियो त्यो कुरा अर्याल नै जानून् । तर, जे बोल्दा ताली पाइन्छ जस्तो लाग्छ त्यही बोलिदिने प्रवृत्तिले भने नेताहरुलाई क्षणिक फाइदा पुगेपनि यसले अन्ततः राजनीतिप्रतिको वितृष्णा जनतामा चुलिनेछ । वैकल्पिक राजनीतिक दल भन्ने तर, सभापति हिरासतमा पर्दा पनि सभापतिको विकल्प नै नदेख्ने डिपी अर्यालले अहिले कार्यबाहकको पद चाहिँ के भनेर स्विकारे होलान् ? पुराना दलको बोलीको ठेगान भएन भनेर तीनै पुराना दललाई गर्नसम्म गाली गर्दै राजनीतिमा उदाएका अर्यालहरुले आफ्नो बोलीमा ठेगान छ भन्ने कुरामा चाहिँ जनतालाई कसरी विश्वस्त तुल्याउलान् ? यो यतिबेलाको अर्को अहम प्रश्न हो ।
रवि लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेपछि रास्वपामा कार्यबाहक सभापति को होला भन्ने प्रश्न सार्वजनकि रुपमा उठेको थियो । त्यो प्रश्नलाई प्रश्न नै होइन भन्नेदेखि लिएर यस विषयमा जिज्ञासा राख्ने सञ्चारकर्मीहरुमाथि नै फरक ढंगले खनिएका रास्वपा नेता कार्यकर्ताले अब अर्यालको त्यो बोलीको बचाउ चाहिँ कसरी गर्लान् ?