राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने रास्वपाका समर्थक डा.निकोलश भुसाल एकरातमै रिहा भएका छन् । आइतबार साँझ काठमाडौंमा पक्राउ परेका भुसाललाई सोमबार बिहान पोखरा लगिएको थियो । पोखरा पु¥याइएको केही समयपछि भुसाल रिहा भएका हुन् । भुसालले कास्की हिरासतमा सुतेका रविको फोटो खिचेका कारण भुसाललाई पनि पोखरा लगिएको थियो । कास्की हिरासतमा नै राखेर अनुसन्धान गर्नेगरी उनलाई पोखरा लगिएको भएपनि बाहिरै राखेर अनुसन्धान गर्नेगरी उनलाई रिहा गरिएको बुझिएको छ ।
लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको भुसालले स्वीकार गरेका थिए । आफ्नो गलत नियत नभएको प्रष्टीकरण दिँदै उनले यसमा माफी समेत मागेका थिए । सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो । रास्वपाका सहकोषाध्यक्ष बोहोराले फोटो फेसबुकमा राख्दै प्रहरीको व्यापक आलोचना गरेका थिए । तर, भोलिपल्ट रास्वपा समर्थक भुसालले फोटो आफूले खिचेको भन्दै सामाजिक सञ्जालबाट माफी नै मागेपछि बोहोरा लगाएत रास्वपाका नेताहरुको बोली मत्थर भएको थियो ।
यता रवि लामिछाने सुतेको फोटो सार्वजनिक प्रकरणमा कास्की प्रहरीका केही अधिकारीहरु नै छानबीनमा पर्ने भएपछि यो प्रकरणलाई सामसुम पार्न खोजिएको केहीले आशंका गरेका छन् । भुसालको रिहाईलाई पनि केहीले यही रुपमा लिएका छन् ।