![](https://aajakopress.com/wp-content/uploads/2024/12/sab.jpg)
धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले रक्सि पिएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार मुखियाले श्रीमती रेशमीको हत्या गरी शौचालयको पछाडि गाडेका थिए । बुधवार राति मुखियाले बुहारीसँग खाना मागेका थिए । खाना माग्दा बुहारीले सासु कहाँ जानुभयो भनेर सोध्दा उनको बोली र हर्कत शङ्कास्पद लागेपछि उनकै बुहारीले प्रहरीलाई बोलाइन् । प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रीमतीलाई मारेको र शव गाडेको बयान दिएका थिए ।
उनको बयानको आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलीले राति नै शव उत्खनन गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको जनाइएको छ । ईप्रका सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनु साहले घरायसी विवादपछि मुखियाले मदिरा खाएर श्रीमतीको हत्या गरेको बताए ।
घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच दिनहुँजसो विवाद भइरहेको हुन्थ्यो। बुधवार दिउँसो १२ बजेसम्म पनि उनीहरुबीच विवाद भएको पारिवारी स्रोतले बताएको छ । शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय आपराधिक घटना बढ्दो छ । प्रविधिको विकास, पर–स्त्री, पर पुरुषसँगको प्रेम सम्बन्ध, अत्यधिक मदिरा सेवन, जनचेतनाको अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झैझगडालगायत कारणले हत्याहिंसाजस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ। सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गइरहेका छन्।
सानो निहुँमा ठूल्ठूला हत्याका घट्ना हुने गरेको प्रहरीहरु बताउँछन् । कमजोर मानसिकता र आवेगले गर्दा हत्याका घटना भइरहेका छन्। प्रहरीका अनुसार बलात्कार, लुटपाट, चोरी, झैझगडाजस्ता अपराध लुकाउन अपराधीले हत्याको मानसिकता बनाउने गरेको पाइन्छ। दुस्मनी साँध्दा र बदलाको भाव राख्दा जघन्य अपराधहरू बढिरहेको अनुसन्धानकर्ताहरु बताउँछन् ।
नेपाल प्रहरीको तथ्यांकले नेपालमा वर्षेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको देखाएको छ । प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्यांकले अपराधको संख्या वर्षेनि बढ्दै गएको पुष्टि गर्छ ।
आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० आपराधिक घटनाको मुद्दा दर्ता भएकामा गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा त्यो संख्या बढेर ५९ हजार दुई सय तीन पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा ४६ हजार नौ सय दुई र आर्थिक वर्ष २०७९/८० मा ५६ हजार तीन सय २३ मुद्दा प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पाँच दशमलव ११ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको छ ।
गत वर्ष सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १७ हजार ४५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । अधिकांश आपराधिक घटना पारिवारिक लेनदेन तथा रिसइबीका कारण हुने गरेको अनुसन्धानले देखाउँछ ।
कुटपिट गरेर, थुनुवा बनाएर, पानीमा डुबाएर, विषालु पदार्थ ख्वाएर, झुन्ड्याएर लगायत अनेक यातना दिएर हत्या हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।