ढोगदिया शब्दको दुरुपयोग भएको भन्दै देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति जनाएको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले शुक्रबार विज्ञप्ती जारी गर्दै सुदूरपश्चिमको मौलिकता, संस्कार र भाषा संस्कृतिलाई होच्याउने गरी गीत–संगीत समेत आएको भन्दै आपत्ति जनाएका हुन् ।
कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय वा जातजाति तथा समुदायसँग जोडिएको मौलिक, कला संस्कृति, परम्पराका साथै पूजनीय संस्कारलाई होच्याउने खालका गीत संगीतप्रति विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो परम्परा मौलिकता सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग तथा दिन प्रतिदिन काली कर्णालीको संस्कारको बेइज्जत हुनेगरि विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरिँदै आएका अपाच्य गीत, संगीत वा सामाजिक सञ्जालमा रहेका विषयवस्तुप्रति गम्भीर आपत्ति जनाउँदछौं ।’
केही दिनअघि मात्रै ‘नमस्ते ढोगदिया’ एक गीत सार्वजनिक भएसँगै प्रतिष्ठानले विज्ञप्ति नै निकालेको हो । यसैबीच सुदूरपश्चिमको संस्कार र भाषा संस्कृतिलाई होच्याउनेगरी निकालिएको उक्त गीत युट्युबबाट तत्काल हटाउन समेत केहीले माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत केहीले यस्तो माग गरेका हुन् ।
‘ढोग दिया’ शब्द सुदूरपश्चिम र कर्णाली प्रदेशमा आफूभन्दा सम्मानित व्यक्तिलाई आदर र सम्मानका लागि प्रयोग गर्ने गरिन्छ ।
केही वर्षअघिदेखि टिकटकमा छाएकी ‘मिस पबी’ ले यो शब्द प्रयोगमा ल्याएपछि यो चर्चामा आएको थियो । त्यसअघि कर्णाली तथा सुदूरपश्चिममा मात्रै प्रयोग हुने गरेको ‘ढोगदिया’ शब्द पछिल्लो समय भने अर्का टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंह ठकुरीले चर्चामा ल्याएकी हुन् । आफ्ना छोरा–बुहारीसँगको विवादको विषयमा टिकटकमा प्रस्ट्याउने क्रममा उनले अभिवादनका क्रममा सो शब्द प्रयोग गरेकी थिइन् । त्यसपछि उक्त शब्दमा आधारित रहेर धेरैले टिकटक, रिल्स लगाएतमा भिडियो अप्लोड गरेका थिए ।