कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा हुने या थुनामा जाने भन्ने कुराको निक्र्योल आज हुने सम्भावना बलियो रहेको छ । रवि लामिछाने सहितका प्रतिवादी, उनीहरुका पक्ष र र विपक्षका वकिलहरुको बयान बुधबार नै सकिएका कारण आज यस सम्बन्धी फैसला हुने सम्भावना बलियो रहेको हो ।
लामिछानेको थुनछेक बहस मंगलबार नै सकिएपनि उनीसँगै प्रतिवादी बनाइएका अन्य केहीको बहस बाँकी रहेका कारण प्रकृया लम्बिएको थियो । बुधबार अन्य प्रतिवादीहरुका तर्फबाट पनि अधिवक्ताहरुले बहस सकेका कारण आज रवि लामिछाने सहितका व्यक्तिहरु रिहा हुने या पुर्पक्षका लागि थुनामा जाने भन्ने कुराको निक्र्योल हुने प्रबल सम्भावना रहेको छ ।
बुधबार जिबी राईका साझेदार तथा नेचर हब्सका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष तथा पूर्व सांसद मिना गुरुङ, उनका बुबा कृष्णबहादुर गुरुङ र सूर्यदर्शन सहकारीकी पूर्व कोषाध्यक्ष आरती गुरुङका तर्फबाट वकिलहरुले बहस गरेका थिए ।
सबैको बहस सकिएका कारण आज फेरि एकसरो बहस भएपछि अदालतले रिहाइ या थुना भन्ने सम्बन्धी आदेश दिनेछ । अदालतले साधारण तारेखमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने या पुर्पक्षका लािग थुनामा पठाउने भन्ने तीन मध्ये एउटा आदेश गर्नेछ । सहकारी ठगी प्रकरणमा रवि लामिछानेको कुनै संंलग्नता नरहेको भन्दै रवि लामिछाने पक्षधर वकिलहरुले लामिछानेको रिहाई हुने दाबी गरिरहेका छन् । तर, उनका विपक्षीहरुले भने लामिछाने दोषी रहेको भन्दै उनलाई थुनामा पठाउनुपर्ने जिकिर गरेका छन् ।
यता रवि लामिछानेको मुद्दा सहकारी ठगी आरोपमा मात्रै नभएर संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा पनि भएका कारण उनलाई यसै हुन्छ भन्न सकिने अवस्था भने छैन । त्यसो त लामिछानेलाई जिल्ला अदालत कास्कीले रिहाको आदेश दिएपनि काठमाडौं लगाएतका अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान भई मुद्दा नै अघि बढेका कारण उनी तत्काल रिहा भइहाल्ने अवस्था भने नभएको केही अधिवक्ताहरुको दाबी छ । उनीहरुका अनुसार जिल्ला अदालत कास्कीले रिहाको आदेश गरेको खण्डमा पनि उनी तत्कालै पक्राउ पर्नेछन् ।
काठमाडौंमा केहीदिन अघि मात्रै उनीविरुद्ध मुद्दा अघि बढेको छ । त्यस्तै अन्य जिल्लामा पनि उनीविरुद्धको मुद्दा अघि बढ्ने प्रकृयामा छ । चितवन, बुटवल र पर्सामा पनि उनीमाथि सहकारी ठगी आरोपमा अनुसन्धान भएको थियो । ती जिल्लाहरुमा पनि उसैगरी प्रकृया अघि बढ्ने केही अधिवक्ताहरुको भनाई छ ।
उता जिल्ला अदालत कास्कीले लामिछानेलाई रिहाईको आदेश गर्न सक्ने विश्वासका साथ रास्वपाका नेता तथा कार्यकर्ताहरु केहीदिनअघि नै पोखरा पुगिसकेका छन् । लामिछानेको स्वागतका लागि कतिपय नेता तथा कार्यकर्ता गएराती पनि त्यसतर्फ गएको बुझिएको छ । तर, अदालतको आदेश कस्तो आउँछ भन्ने कुरा भने प्रतिक्षाकै विषय बनेको छ ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेबारे कास्की जिल्ला अदालतले गर्न सक्ने आदेश अन्य जिल्ला अदालतका सवालमा पनि नजिर बन्न सक्ने केहीको बुझाई छ । रवि लामिछाने छुटेको अवस्थामा या थुनामा गएको अवस्थामा यसले राष्ट्रिय राजनीतिमा फरक प्रकारको तरंग सिर्जना गर्ने निश्चित छ । लामिछाने छुट्दा सरकार नै परिवर्तन हुने सम्मका अड्कलबाजी भइरहेका छन् भने लामिछाने थुनामा जाँदा ओली सरकार थप बलियो हुने अनुमान गरिएको छ ।