Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविविरूद्धको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा जाहेरवाला पक्षको बहस जारी


रवि लामिछानेविरूद्धको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा जाहेरवाला पक्षले बहस गरिरहेका छन्। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगको मुद्दामा शुक्रबार बिहान ११ बजेदेखि न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा जाहेरवाला पक्षले बहस सुरू गरेका हुन्।

अहिले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन्। त्यसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्ने तयारी छ। उनीहरू दुबै जनाले यसअघि काठमाडौं र पोखरामा पनि जाहेरवालाको पक्षबाट बहस गरेका थिए।

उनीहरूको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।

बिहीबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेल, उपन्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, उपन्यायाधिवक्ता प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरेका थिए।

सरकारी वकिलले बहस गर्दा लामिछानेलाई हिरासतमा नपठाएर परिवारको जिम्मा लगाएको भन्दै आपत्ति जनाएका थिए। पक्ष विपक्षका वकिलहरुको बहस सक्किएपछि आदेश आउने छ ।

सुप्रिम सहकारीको बचत रकम अपचलनको आरोपमाा लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।

यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार