Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविसँग १ करोड धरौटी माग


रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले १ करोड रुपैंयाँ धरौटीमा छाड्न आदेश दिएको छ । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।
इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।

सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुठो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरण लगाएतलाई आधार बनाउँदै सहकारी ठगीमा उनको संलग्नता पुष्टि भएको दाबी सहित सरकारी वकिलले अभियोग पत्र दायर गरेको थियो ।
रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएपनि उनका विरुद्ध सहकारी ठगीको आरोपमा अन्य जिल्ला अदालतमा पनि मुद्धाको प्रकृया अघि बढेको छ । लामिछाने रुपन्देही, काठमाडौं र कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । अब यसपछिका उनका अन्य मुद्धा के कसरी अघि बढ्छ भन्ने विषय यतिबेला धेरैका लागि चासोको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार