
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।
उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।
राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे शीतल निवास प्रस्थान गर्नेछन् । अपराह्न ४ बजे उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उनी भोलि (माघ २३) ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् ।
नेपालमा रहँदा राजकुमार दम्पती पोखरा पनि जानेछन् । नेपाल भ्रमण सकाएर दम्पती यही माघ २७ गते (आइतबार) फिर्ता हुनेछन् । उनीहरु नेपाल मात्र नभएर दक्षिण एसियाका विभिन्न मुलुकको भ्रमणमा निस्किएका स्रोतको भनाइ छ ।
बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् । अर्थात्, उनी वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये हाल उनी १५औँ नम्बरमा छन् ।
बेलायती राजकुमार दम्पती ६ दिनसम्म नेपाल भ्रमणमा रहने छन् ।