Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

रविविरुद्ध अभियोजन गर्ने चितवनका सरकारी वकिलमाथि छानबिन गर्न समिति गठन


साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ ।

जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनबाट तत्काल महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो ।

सरकारी वकिलको कार्यालयले हिजो सहारा बचत तथा ऋण सहकारीको रकम अपचलनसम्वन्धी मुद्दामा लामिछानेसहित १५ जनामाथि पूरक अभियोजन दर्ता गरेको थियो । उक्त अभियोजनमा लामिछानेलाई ‘संगठित अपराध’ हटाएर ‘ठगी’ को कसुर मात्रै लगाइएकोप्रति महान्यायाधीवक्ताको कार्यालय सन्तुष्ट छैन ।

यही विषयमा लुइँटेललाई चितवनबाट तानेर छानबिन सुरु गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता समेत रहेका प्रवक्ता सूर्यराज दाहालले जनाएका छन् ।

नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति समेत गठन गरिएको छ । हिजै गठित समितिमा उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् ।

समितिले हिजोदेखि नै काम थालेको छ । तर, समितिको कार्यकाल भने यकिन नभएको जनाइएको छ ।

स्रोतका अनुसार छानबिनबाट प्राप्त हुने तथ्यअनुसार थप प्रक्रिया अघि बढ्नेछ । लुइँटेललाई महान्याधिवक्ताको कार्यालय तानिएसँगै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई ल्याइएको छ ।

लुइँटेल जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा कार्यरत रहेको डेढ वर्ष पुगेको थियो । उनी २०८० कार्तिक २० मा चितवनमा हाजिर भएर काम सुरु गरेका थिए । सामान्यतया जिल्ला न्यायाधिवक्ताको २ वर्षमा सरुवा हुने गर्छ ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।


प्रतिक्रिया दिनुहोस !
विचार