
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संसदमा खासखुस चलेकै भोलिपल्ट बिहानै प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेट्न अर्थमन्त्री विष्णु पौडेललाई खुमलटार पठाएका छन् । पौडेल खुमलटार गएपछि सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा अझ बल पुगेको छ ।
राष्ट्र बैंकका गर्भनर नियुक्तिको विषयले कांग्रेस र एमालेबीचको मनमुटाव चुलिएको समयमा सरकार नै ढल्न सक्ने आँकलन भइरहेका बेला माओवादी केन्द्रका अध्यक्षको घरमै एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल पुगेपछि यसले राजनीतिक वृत्त तातिएको छ ।
कांग्रेस नेताहरु एमालेसँग असन्तुष्ट हुनु, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउनु र संसदमा ओली प्रचण्डको खासखुस चल्नुलाई सामान्य संयोगका रुपमा मात्रै लिन नसकिने राजनीतिक विश्लेषकहरु बताउँछन् । यद्यपि अर्थमन्त्री पौडेल र माओवादी केन्द्रका अध्यक्षबीचको छलफललाई बजेटपूर्वको छलफलका रुपमा मात्रै बुझ्न माओवादी केन्द्रका नेताहरुले आग्रह गरेका छन् ।
प्रचण्डको सचिवालयल अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान बजेटपूर्वको अवस्थाका विषयमा छलफल भएको जानकारी दिएको छ । यसअघि सोमबार अर्थमन्त्री पौडेलले बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए ।
सरकारले जेठ १५ गते बजेट ल्याउँदैछ । तर, उक्त बजेटअघि नै सरकारको समिकरण फेरबदल हुन सक्ने आंकलन कतिपयले गरेका छन् ।