भिजिट भिसा प्रकरणले विवादमा तानिएका गृहमन्त्री रमेश लेखकले जप शान्ति गराएका छन् । शत्रु परास्त होऊन् भनी मन्त्री लेखकले ललितपुरको बगलामुखीमा बाल्मिकी विद्यापिठका १३ जना पुरोहितबाट जप शान्ति गराएका हुन् ।
गत बिहिबार बिहान ९ बजे शुरु भएको जप शान्ति करिब ४ बजे सकिएको थियो । आफैं बगलामुखी मन्दिरमा जप शान्तिका लागि जाँदा अनावश्यक हल्ला हुने भन्दै उनले श्रीमतिलाई पठाएका थिए । उनकी श्रीमति बिहानदेखि बेलुकीसम्मै जप शान्तिमा बसेकी थिइन् । बगलामुखीमा जप शान्ति यज्ञ चलिरहँदा मन्त्री लेखक भने गणतन्त्र दिवसको औपचारिक समारोहमा सहभागी थिए ।
स्रोतका अनुसार बिहिबार मन्त्री लेखकको अरिष्ट ग्रह निवारणका लागि भन्दै २४ हजार बगलामुखी जप, चण्डीपाठ र रुद्राभिषेक गरिएको थियो । जपमा सहभागी पुरोहितहरुलाई जनही पाँच हजार रुपैंयाँका दरले दक्षिणा दिइएको बुझिएको छ ।
भिजिट भिसा प्रकरणमा मन्त्री लेखक पनि संलग्न रहेको आरोप लगाउँदै विपक्षी दलहरुले उनको राजीनामा माग्दै आएका छन् । तर, आफ्नो संलग्नता अस्विकार गर्दै उनले भिसा प्रकरणमा आफ्नो संलग्नता भेटिए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् । उनकै विषयलाई लिएर संसद बैठक समेत पटक पटक अबरुद्ध हुँदै आएको छ ।






