प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दा चुच्चे नक्सा नराखेको भन्दै आलोचना शुरु भएको छ । प्रधानमन्त्रीमा कार्की नियुक्त भएदेखि नै चुच्चे नक्सा खोई भन्दै सामाजिक सञ्जालमा उठेको प्रश्न राष्ट्रका नाममा गरिएको सम्बोनधनपछि फेरि उठ्न थालेको हो ।
बिहिबार प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गरिन् । तर, उनले सम्बोधन गर्दैगर्दा उनी बसेको हलको भित्ता सादा थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हलको भित्तामा नेपालको नक्सा राख्न नभ्याएका कारण भित्तो सादा देखिएको हो या त्यहाँ नक्सा राख्न आवश्यक नठानेर हो त्यो उही जानोस् । तर, प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा भने धेरैले प्रधानमन्त्रीको सम्बोधन मात्रै नभई प्रधानमन्त्रीको कुर्सी पछाडि नेपालको नक्सा राखिएला या नराखिएला भनेर पनि ध्यानपूर्वक हेरेका थिए ।
यसअघिका प्रधानमन्त्रीहरुले राष्ट्रका नाममा सम्बोधनका गर्दा कुर्सी पछाडिको भित्तामा नेपालको नक्सा देख्दै आएकाहरुले नक्सा सम्बन्धी प्रश्न उठाउनु अन्यथा पनि होइन । अझ त्यसमा पनि अहिले भारत र चीन मिलेर नेपाली भूमी लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गरेको अनि उक्त सहमति भएको केही समयपछि नै नेपालमा सत्ता परिवर्तन भएका कारण नक्साप्रति नेपालीहरुको विशेष ध्यान स्वभाविक नै हो । अहिलेको सरकारलाई राजनीतिक वृत्तबाट अनेक शंका आशंकाका नजरले हेर्न थालिएका बेला उक्त शंका निवारणका लागि पनि सरकारले यी र यस्ता कुरामा ध्यान दिनुपर्ने हो । तर, सरकारले नक्सा राख्न नभ्याएर हो या के हो ध्यान दिएको देखिएन । अब सामाजिक सञ्जालमा आएका केही प्रतिकृया हेरौं : फणिन्द्र लामिछाने लेख्छन् : प्रधानमन्त्रीज्यू चुच्चे नक्सा खोई ? सिंहदरबारमा जल्यो । नेपालको नक्सा, सार्वभौमसत्ता सम्पन्न संविधानसभाले पारित गरेको देशको निशान छाप गायब ।
यसैगरी सञ्चारमन्त्री जगदीश खरेललाई मेन्सन गर्दै विवेक अर्याल लेख्छन् : जगदीश खरेल दाजु, सम्माननीय प्रधानमन्त्रीज्यूको पछाडिको ब्याकग्राउण्डमा नेपालको चुच्चे नक्सा नराख्दा तपाईँको हट सिट त्यहिँ चलाइदिनुप¥यो । लौन यहाँ त तपाईँ माथि नै प्रश्न उठ्ने अवस्था आयो ।
एमाले नेता सूर्य थापाले पनि यो विषयमा लेखेका छन् ः कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपाली भूभाग समेटिएको चुच्चे नक्सासँग प्रधानमन्त्री पद साटेको तथ्य स्पष्ट भएको छ । इतिहासले अवश्य धिक्कार्ने छ ।
प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनपछि आएका यी र यस्ता प्रश्नबारे जवाफ दिने काम सरकारको हो । यसमा जवाफका लागि मन्त्री या प्रधानमन्त्रीको मुख होइन काम आवश्यक देखिन्छ । जनताको मन मुटुमा रहेको चुच्चे नक्सा यी र यस्ता औपचारिक समयमा देखिने व्यवस्था सरकारले गर्नैपर्छ । अन्यथा प्रश्नमाथि प्रश्न उठिरहन्छ ।






