Logo
६ माघ २०८२, मंगलवार
|  Tue Jan 20 2026

देउवा परिवारको हरिबिजोग


कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारलाई यतिबेला जुन आपत आइलागेको छ । यसको सायद उनीहरुले कहिल्यै कल्पना गरेका थिएनन् । जिवित नेतामध्ये सबैभन्दा धेरैपटक प्रधानमन्त्री भएका देउवा जीवनको उतरार्धमा फेरि प्रधानमन्त्री बन्ने दिनको प्रतिक्षामा थिए । सुनिएको थियो, ज्योतिषीले देउवालाई सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेका थिए रे । कतिपयलाई हो कि क्या हो भन्ने पनि लागेको थियो । किनकि पटकपटक प्रधानमन्त्री भइसकेका देउवा दिन ठिकठाक रुपमै चलिरहेको थियो भने अबको केही महिनापछि प्रधानमन्त्री बन्दै थिए । ओलीपछिको प्रधानमन्त्री देउवा भन्ने कन्फर्म जस्तै थियो । ओली र देउवाले पालैपालो प्रधानमन्त्रीको पद लिने भनेर हस्ताक्षर नै गरेका थिए । ओली बारम्बार भन्थे, म तोकिएकै समयमा देउवाजीलाई पद हस्तान्तरण गर्छु । ओलीको कुरामा मख्ख पर्थे देउवा । फेरि प्रधानमन्त्री बन्ने लोभले देउवालाई यसरी एकोहोरो बनाएको थियो कि उनी ओली बिच्किए भने बर्बादै हुन्छ भन्ने ठानेर ओलीले गरेका हरेक काममा हो मा हो मिलाउँथे ।

ओली नेतृत्वको सरकारले वाक स्वतन्त्रता निमोठ्नेगरी सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो । तर, वाक् स्वतन्त्रताकै लागि पटक पटक लडेका देउवा मुखैमा आउँन लागेको प्रधानमन्त्री पद गुम्ने डरले शुरुमा बोल्न सकेनन् । जब बोले त्यतिबेला धेरै ढिला भइसकेको थियो । देउवाले ओलीलाई फोन गरेर सामाजिक सञ्जाल खोल्न आग्रह गर्दा परिस्थिती निकै बिग्रिसकेको थियो । देउवाले प्रधानमन्त्री पदको लोभ नगरी ओलीसँग अलि चर्को स्वरमा बोेलेको भए सम्भवतः ओली ब्याक हुन पनि सक्थे । तर, पटकपटक प्रधानमन्त्री भएका देउवाले फेरि प्रधानमन्त्री बन्ने लोभमा ओलीसँग चर्को स्वरमा बोलेर जोखिम मोल्न चाहेनन् । आफू प्रधानमन्त्री बन्ने लोभसँगै आफ्नी श्रीमतिलाई कांग्रेस राजनीतिमा स्थापित गरेरै छाड्ने अर्को सोख पनि थियो देउवाको । आफू मात्रै होइन उनी श्रीमतिलाई पनि विस्तार विस्तारै प्रधानमन्त्रीको कुर्सीमा पु¥याउने योजनामा थिए । श्रीमतिलाई परराष्ट्रमन्त्री बनाउँन सफल भएका देउवा अबको केही धक्कापछि प्रधानमन्त्रीकै कुर्सीमा पु¥याउँन कसो नसकिएला भन्ने सोच्थे । यी विविध सोचाई उमेरको उतरार्धमा देउवाको दिमागमा आइरह्यो । सुदूरपश्चिमको एउटा सुदूर गाउँमा सामान्य परिवारमा जन्मिएका देउवाले आफ्नो राजनीतिक जीवनयात्रामा देशका लागि केही गरेनन् भन्ने होइन । उनले उल्लेखनीय काम पनि गरेका छन् । र, सँगै कमाउन सम्मको बदनाम पनि कमाएका छन् । दामको कुरा अहिले छाडिदिउँ । के कति भन्ने कुरा भोलिका दिनमा सत्यतथ्य बाहिर आउदै जाला । बुढानिलकण्ठको त्यो आलिसान घरमा भेटिएको भनिएको पैसा साँच्चै सत्य रहेछ भने त्यतिबेला अरु थप कुरा गरौंला ।

नेपालीमा एउटा उखान छ नि लोभले लाभ लाभले विलाप । धेरै लोभ गर्दा उनी विलापको स्थितीमा पुगेका छन् । फेरि प्रधानमन्त्रीको लोभ उनले नगरेको भए उनी ओलीसँग सिधा सिधा भन्न सक्थेः ओलीजी सामाजिक सञ्जाल बन्द नगर्नुस् । तर, फेरि प्रधानमन्त्री बन्ने लोभले गर्दा उनले भन्न सकेनन् ।

बुढेसकालमा फेरि प्रधानमन्त्रीको कुर्सीमा बस्ने दिनको कल्पना गर्दै गरेका देउवा अहिले हस्पिटलको बेडमा छन् । थप स्वास्थ्योपचारका लागि विदेश जाने तयारी गरिरहेको भनिएका देउवा र उनकी पत्नीलाई बाहिर जान नदिने योजनामा सरकार रहेको खबर बाहिरिएको छ । उनले पछिल्लोपटक लिएको भनिएको पासपोर्ट नै अनुसन्धानको दायरमा तानिएको हल्ला छ । उता बुढानिलकण्ठमा रहेको आफ्नो घर डढेर खरानी भएको छ । यता प्रहरीले दिनदिनै ससुराली र इष्टमित्रका घरमा समेत छापा मारेको भन्ने खबर फैलिन्छ । सासु ससुरादेखि साला र देउवा निकटका अन्य धेरैको घरमा प्रहरी पुगेको सुनिन्छ । कस्तो दिन आयो पटक पटक प्रधानमन्त्री बनेका देउवाको । अब फेरि दिन फर्किएला कि ?


प्रतिक्रिया दिनुहोस !
विचार