Logo
११ जेष्ठ २०८३, सोमबार
|  Mon May 25 2026

प्रश्नको घेरामा गृहमन्त्री


गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौ महानगरपालिकाका मेयर बालेन साहको अत्यन्तै निकट रहेर काम गरेका व्यक्ति हुन् । गृहमन्त्री बन्नु केहीदिनअघि सम्म उनी बालेन शाहका कानुनी सल्लाहकार थिए । कानुनी सल्लाहकार रहँदारहँदै उनी सकृय राजनीतिमा हाम फाल्ने सोचमा पुगे । त्यही सोच अनुसार उनी कार्तिक १७ का लागि घोषणा गरिएको रुपन्देही ३ को उपनिर्वाचनको तयारी गर्न थाले । तर, उपनिर्वाचनको तयारी चल्दाचल्दै देशमा ठूलो राजनीतिक उथलपुथल भयो । जेन्जी आन्दोलनले सत्ता उलटपुलट गरिदियो । त्यसपछि सुशीला कार्की प्रधानमन्त्री भइन् । हुन त कार्कीलाई प्रधानमन्त्री बनाउँनेदेखि सेना र राष्ट्रपतिसम्मको प्रत्यक्ष संवादमा अर्याल यसरी जोडिए कि कतिपय जेन्जीहरु नै चकित बने । जेन्जी आन्दोलनका गुप्त कमाण्डर बालेन साह रहेको बुझाईका कारण केहीले भने अर्यालको सकृयतालाई अस्वभाविक रुपमा लिएनन् ।

कार्की प्रधानमन्त्रीमा नियुक्त भएको केही दिनसम्म मन्त्रीपरिषद विस्तार भएन । प्रधानमन्त्री कार्कीले सम्बन्धित क्षेत्रका विज्ञहरुलाई मन्त्री बनाउँने तयारी गरेका कारण मन्त्रीपरिषद विस्तार नभएको भनियो । हुनपनि त्यस्तै देखियो । पूर्व अर्थसचिव तथा अर्थ मामलामा विज्ञ रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भए । उर्जा क्षेत्रका विज्ञ कुलमान घिसिङ उर्जा मन्त्री भए । कानुन क्षेत्रका जानकार ओमप्रकाश अर्याललाई कानुन सहित गृह मन्त्रालयको जिम्मेवारी दिइयो । कानुन मन्त्रीका रुपमा उनलाई दिइएको जिम्मेवारीप्रति कसैले प्रश्न उठाएनन् । तर, विज्ञताका आधारमा मन्त्री नियुक्त गरिएको भन्दै गर्दा सुरक्षा मामला ओमप्रकाश अर्यालको विज्ञता के कसरी भयो भन्दै मान्छेहरुले प्रश्न उठाए । धेरैलाई लागेको थियो, सुरक्षा क्षेत्रमा राम्रो काम गरेका कुनै पूर्व सुरक्षा विज्ञ , पूर्व आइजीपी , पूर्व एआजी वा यस्तै अरु कोही कसैलाई प्रधानमन्त्री कार्कीले गृहमन्त्री नियुक्त गर्नेछिन् । तर, त्यस्तो गरिएन । बरु पछि मन्त्रीपरिषद फेरि विस्तार गर्दा कानुन मन्त्रीको उनको जिम्मेवारी अर्का नयाँ मन्त्रीलाई दिइयो र अर्याललाई चाहिँ विशुद्ध गृहमन्त्री मात्रै बनाइयो । सरसर्ती हेर्दा कार्की मन्त्रीपरिषद सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मिलित मन्त्रीपरिषद जस्तो देखिन्छ । तर, गृहमन्त्रीतिर यसो फर्किएर हेर्दा भने उनी के आधारमा सुरक्षा क्षेत्रका विज्ञ भए होलान् भनी स्वभाविक रुपमा मान्छेहरुको प्रश्न तेर्सिन्छ ।

उनी कानुन क्षेत्रका जानकार हुन् । कानुन मन्त्री उनलाई सुहाउँथ्यो पनि । तर, कुन विज्ञताका आधारमा गृहमन्त्री ? यो प्रश्न फेरि पनि उठ्छ । हुन त भन्नेहरुले भन्न सक्छन् ः यसअघिका मन्त्रीपरिषदका गृहमन्त्रीहरु चाहिँ सुरक्षा क्षेत्रका जानकार थिए र ? यस्तो प्रश्न गर्न सकिएपनि यो मन्त्रीपरिषदका हकमा गर्न सुहाउँदैन । किनकि यो मन्त्रीपरिषदमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई मात्रै मन्त्री नियुक्त गर्ने भन्ने थियो ।
हुन त गृहमन्त्रीमा ओमप्रकाश अर्यालयको नियुक्तिप्रति जेन्जी अगुवाहरुले पनि प्रश्न नउठाएका होइनन् । वार्ताका लागि गएका मान्छे आफै गृहमन्त्री बनिदिने भन्दै केहीले प्रश्न उठाएका थिए । तर, त्यो प्रश्न त्यतिकै सेलायो । अघिल्ला मन्त्रीपरिषदहरुमा गृहमन्त्री सुरक्षा मामलाको जानकार नहुँदा पनि त्यस्तो असर पर्ने थिएन । तर, यसपटक परिस्थिती बेग्लै छ । सुरक्षा मामला राम्रोसँग बुझेको मान्छे नहुँदा अहिलेको परिस्थिती सम्हाल्न सहज छैन । देशको शान्ति सुरक्षाका विषयमा नागरिकहरु पलपल चिन्तित छन् ।

चुनावताकाको शान्ति सुरक्षा मात्रै होइन । दैनिक शान्ति सुरक्षा यतिबेलाको महत्वपूर्ण विषय हो । जेन्जी आन्दोलनका क्रममा जे जस्ता विध्वंश भए त्यसले मान्छेको मन अशान्त छ । कतिबेला के हुने हो भन्ने डर पलपल छ नागरिकमा । तर, त्यही क्षेत्र बुझेको मान्छे गृहमन्त्री नहुँदा झनै चिन्ता छ । सुरक्षा मामला राम्रोसँग बुझेको मान्छे गृहमन्त्री भइदिए थोरै भएपनि राहतको महसुस हुन सक्थ्यो । तर, यतिबेला खोई के खोई भन्ने भएको छ जनतामा । भदौ २३ गते जनताका छोराछोरीका टाउका बन्दुक ताक्नेमाथि कारबाही गर्नुपर्ने जिम्मेवारी एकातिर छ । अनि २४ गतेको विध्वंशका नाइकेहरुलाई पाता कस्नुपर्ने जिम्मेवारी अर्कातिर छ । तर, २४ गतेको विध्वंसमा सामेल भएकाहरु जो केही समातिएका थिए भनिएको थियो । उनीहरुलाई धमाधम छाड्न गृहमन्त्रीले नै निर्देशन दिए भन्ने हल्ला पनि बजारमा छ ।

यसले जनतामा थप डर पैदा भएको छ । विध्वंशकारीको मनोबल बढेर भोलिका दिनमा थप विध्वंश निम्तने त होइन भन्ने स्वभाविक डर छ । अहिले प्रतिशोध होइन गृहमन्त्रीमा जिम्मेवारीबोध हुनुपर्ने हो । तर, जिम्मेवारीबोध भन्दा प्रतिशोध ज्यादा देखिदैछ भन्ने कतिपयको बुझाई छ । चुनावको वातावरण गृहमन्त्रीका बोली र व्यवहारमा धेरै हदसम्म भर पर्छ । सुरक्षा मामला बुझेको गृहमन्त्री हुँदा खतराजन्य परिस्थिती पनि सहज रुपमा टर्छ । तर, अहिले के होला के होला भन्ने चिन्ता छ ।
आखिर सुरक्षा मामला बुभेको मान्छेहरुलाई छाडेर प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याललाई किन गृहमन्त्री बनाइन् होला ? बालेन साहको निकट हुनु नै उनको विज्ञता हो या अरु केही ? यो प्रश्न प्रधानमन्त्रीको विज्ञ मन्त्रीपरिषदतिर बारम्बार तेर्सिरहन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार