नेपालीमा एउटा उखान छ जता काफल पाक्छ उतै चरी नाच्छ । अनि अर्को उखान पनि छ बलेको आगो ताप्न जो पनि अघि सर्छ । रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा अहिलेकी प्रधानमन्त्री सुशीला कार्कीले केही महिनाअघि व्यापक जनलहर देखिन् । रविका पक्षमा शुरु भएको हस्ताक्षर अभियान जसरी अघि बढ्यो त्यो देखेपछि उनलाई लाग्यो यही बेला रविका विषयमा बोलियो भने थप पपुलर भइन्छ । सायद त्यही सोचेर होला उनले सार्वजनिक रुपमै भनिन् : रवि लामिछानेमाथि अन्याय भएको छ । रवि लामिछानेलाई एउटा अदालतबाट अर्को अदालतमा लगिएको विषय उनलाई पटक्कै चित्त बुझेको थिएन । त्यसैले भनिन् : एउटा मान्छेलाई कुन हदसम्मको दुःख दिइएको छ । दुई दुई दिनमा अदालत परिवर्तन गराइएको छ । उसको मानवअधिकार हनन् गरिएको छ । आदी इत्यादी ।
रविमाथि यसअघिको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विभिन्न तबरले अभिव्यक्ति दिएकी सुशीला कार्की अहिले प्रधानमन्त्री छिन् । सरकारले नै प्रतिशोध साँधेको थियो भने त्यो प्रतिशोध खारेज गरेर रविको मुद्दा फिर्ता लिइदिने हैसियतमा उनी पुगेकी छिन् । तर, प्रधानमन्त्री भएको यत्तिका दिन बितिसक्दा पनि खोई त त्यो प्रकृया ? कार्की त अझ न्याय क्षेत्रको माथिल्लो तहमा पुगेकी व्यक्ति हुन् । न्याय क्षेत्रको माथिल्लो तहमा पुगिसकेको व्यक्तिले लहैलहैमा बोल्ने होइन । रवि लामिछाने दोषी हुन् या होइनन् भन्ने कुरा अदालतले छिनोफानो गर्छ भनेर भनेको भए फरक कुरा । तर, उनले त रविमाथि प्रतिशोध नै हो भनेर उतिबेला भनिसकेपछि अहिले त्यो प्रतिशोध खारेज गर्ने जिम्मा उनैको होइन ?
कि अघि नै भनेको उखान जस्तै हो उनको शैली जता काफल पाक्छ उतै चरी नाच्छ । त्यतिबेला रवि लामिछाने हाई हाई भन्ने अवस्था थियो । यता गएपनि रवि उता गएपनि रवि । यता पनि रविमाथि प्रतिशोध उता पनि रविमाथि प्रतिशोध । अरुले भनेको त्यही सुनेपछि माहोल त यतै रहेछ कि क्या हो भनेर त्यतिबेला अहिलेकी प्रधानमन्त्री सुशीला कार्कीले पनि अन्याय भयो अन्याय भयो भनेकी त होइनन् ? अहिले रवि लामिछानेप्रतिको दृष्टि समाजमा केही फरक भएको छ । जेनजी आन्दोलनसँगै रवि लामिछाने जेलबाट बाहिर निस्किए त्यसरी निस्कँन हुँदैनथ्यो । उनकै कारण हजारौं कैदी बन्दीहरु बाहिर आए भन्ने बुझाई समाजमा कतिपयको देखिन्छ । सुशीला कार्की पनि हो कि क्या भन्ने लागेर अहिले रविका पक्षमा नउभिएकी त होइनन् ? अहिले रविका पक्षमा यत्तिबेला उतिबेलाको जस्तो माहोल नदेखिएपछि उनी पनि प्रतिशोध त होइन रहेछ कि क्या हो भन्ने सोच्ने तहमा पुगिन् कि भन्ने कतिपयको आशंका छ । त्यहीभएर माहोल जताजता चल्छ उतै उतै ढल्किने शैलीलाई जता काफल पाक्छ उतै चरी नाच्छ भनिएको हो ।
जेनजी आन्दोलन शुरु हुने हल्लाका बीचमा पनि सुशीला कार्की मौन थिइन् । आन्दोलन चल्दै गर्दा पनि उनको खास केही प्रतिकृया सुनिएको थिएन । तर, जब आन्दोलन उत्कर्षमा पुगेर केही मत्थर भयो त्यसपछि कार्की फुत्त निस्किइन् । अहिले पनि कतिपय जेन्जीहरु भन्छन् सुशीला कार्की सेन्टिमेन्ट क्याच गर्न आएकी थिइन् । गरिन् र प्रधानमन्त्री भइन् । कार्कीका विषयमा सुरुमा डिस्कोर्डमा कुनै चर्चा थिएन । तर, आन्दोलन उत्कर्षमा पुगेर माहोल अलि मत्थर भएपछि सेनाले जेन्जीहरुलाई वार्तामा बोलाएपछि कार्की फुत्त कतै देखिइन् । घाइते र मृतकप्रति सहानुभूति जनाउँदै मिडियामा बोलिन् त्यसपछि उनको नाम डिस्कर्डमा इन्ट्री भयो । उनी प्रधानमन्त्री भएपछि रविका बारेमा केही जेन्जीहरुले नकारात्मक कुरा गरे । सम्भवतः त्यसपछि कार्कीलाई लाग्यो अहिले काफल अलि काँचै छ । भोलिका दिनमा रविका पक्षमा माहोल राम्रो बनेको देखिन् भने उनी जेन्जीतिर होइन रविका विषयमा गज्जबैले खुल्न सक्छिन् । फेरि त्यही उखान दोहो¥याउँदा फरक नपर्ला ः जता काफल पाक्छ उतै चरी नाच्छ ।






