Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

नयाँ रुपमा फेरि जेनजी आन्दोलन


जेनजी आन्दोलन नयाँ रुपमा फेरि शुरु भएको छ । भदौ २३ र २४ गते सडकमा देखिएको जेनजी आन्दोलन अहिले फेरिएको छ । सामाजिक सञ्जालबाट सडकमा पुगेको आन्दोलन अहिले सडकबाट फेरि सामाजिक सञ्जालतिरै तानिएको छ । सामाजिक सञ्जालमा चलिरहेको यो आन्दोलन यति तिब्र गतिमा फैलिएको छ कि यसले कस्तो रुप लिन्छ र परिणती के निकाल्छ भनेर अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन ।

दशैं सकिएसँगै सामाजिक सञ्जालमा एरेस्ट केपी ओली अभियान शुरु भएको छ । यसलाई जेनजीहरुले आन्दोलनको अर्को चरण भनेका छन् । भदौ २३ को आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापक दमन गरेर निहत्था नागरिकहरुको ज्यान लिएको भन्दै उनीहरुले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै एरेष्ट केपी ओली र एरेष्ट रमेश लेखक अभियान चलाएका हुन् । अहिले यो अभियान सामाजिक सञ्जालमा आगोसरी फैलिएको छ । जेनजीदेखि गैह्र जेनजीहरुले एरेष्ट केपी ओली ह्यासट्याग सहित ओली र लेखकको फोटो भाइरल गरिरहेका छन् ।

यति मात्रै होइन सामाजिक सञ्जालमा जेनजीहरुको अर्को आन्दोलन पनि चलिरहेको छ । उनीहरुले सामाजिक सञ्जालकै माध्यमबाट अख्तियार प्रमुख प्रेमकुमार राई सहित अख्तियारका आयुक्तहरुलाई तत्काल स्वेच्छिक राजीनामा दिन दबाब दिइरहेका छन् । अख्तियार प्रमुखको कार्यालयमा उनीहरुले इमेल समेत गरिसकेका छन् ।
। जेन्जीहरुले यो सँगै प्रधानन्यायाधीशदेखि लिएर केही न्यायाधीशहरुलाई पनि राजीनामाका लागि दबाब दिने अभियान शुरु गर्दैछन् भन्ने सुनिएको छ । २३ र २४ गते सडकमा देखिएको जेनजीहरुको आन्दोलन सामाजिक सञ्जालमा केन्द्रित भइरहँदा यसको परिणतीका विषयमा विभिन्न खालका अनुमानहरु पनि सार्वजनिक हुन थालेका छन् । कतिपयले जेनजीहरुको आन्दोलनले अब व्यापक परिवर्तन गर्ने लख काटिरहेका छन् भने कतिपयले जेनजीहरुबीच नै विचारमा एकत्व नभएका कारण यत्तिकैमा ढिसमिस हुन सक्ने पनि भनेका छन् । भदौ २३ अघि सामाजिक सञ्जालमा नै भाइरल बनेको नेपो बेबी ट्रेण्ड फेरि शुरु भइसकेको छ । पछिल्ला केहीदिनबाट चलेको झोले ट्रेण्ड अहिले पनि जारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार