जेनजी आन्दोलनपछिका १ महिना कहिँ कतै सार्वजनिक नभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार धेरैको मन जित्नेगरी आफ्नो राजनीतिक जीवनको उतारर्धमा केही यस्ता घोषणा गरे जसले धेरैलाई चकित तुल्याइदियो । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बुढानिलकण्ठमा मरणासन्न हुनेगरी कुटाई खाएका देउवाले पार्टी कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कमिटी बैठकमा जेनजीप्रति आक्रोश र कुण्ठा होइन सम्मानभाव व्यक्त गरे ।
जेनजी आन्दोलनमा केही दल र नेताहरुले षडयन्त्र नै षडयन्त्र मात्रै देखिरहेका बेला उनले जेनजीका जायज माग पूरा गर्नैपर्ने लिखित मन्तव्य राखे । मरणासन्न हुनेगरी भौतिक आक्रमणमा परेका देउवाले आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदा जेनजी आन्दोलनप्रति नै तिब्र असन्तुष्टी व्यक्त गर्दै जेनजीलाई अनेकन आरोप लगाउलान् भन्ने केहीको अनुमान थियो । तर, त्यो अनुमान विपरित देउवाले जेनजीका जायज माग पूरा गर्नुपर्ने प्रस्ताव केन्द्रीय कमिटि बैठकमा राखे । जबकी देउवाभन्दा धेरै दिन पहिले नै सार्वजनिक भएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीप्रति तिब्र असन्तुष्टी मात्रै व्यक्त गरेका थिएनन् जेनजी आन्दोलनको अपमान गर्नेगरी चेतावनी र चुनौती दिएका थिए ।
जेनजी आन्दोलनले आफूहरुको नेतृत्व अस्वीकार गरेको कुरा देउवाले सहजै स्वीकार गर्दै सार्वजनिक भएको पहिलो दिन नै पार्टीको नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने घोषणा गरे भने तत्कालका लागि पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्ण बहादुर खड्कालाई दिएर पदप्रति आशक्ति नभएको प्रमाणित गरिदिए । तर, त्यही जेनजी आन्दोलनले राजनीतिबाट किनारा लाग्नका लागि प्रष्ट सन्देश दिँदादिँदै पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पदप्रतिको आशक्ति प्रष्ट रुपमा देखाइरहेका छन् । देउवा भन्दा धेरै दिनअघि सार्वजनिक भएका ओली र प्रचण्डले पनि देउवाको जस्तै पार्टीको कार्यबाहक अध्यक्ष अरु कसैलाई तोकेर यतिबेला चुलिएको राजनीतिक वितृष्णा मत्थर पार्न सक्थे । तर, उनीहरुले कार्यबाहक तोक्ने त के आफूले सकुञ्जेल टसको मस नगर्ने संकेत गरिसकेका छन् । संकेत मात्रै होइन एमाले अध्यक्ष ओलीले त आफूले सकेको दिनसम्म पार्टीको नेतृत्व नछाड्ने घोषणा नै गरेका छन् ।
राजनीतिक बठ्याइँमा सिपालु देखिएका प्रचण्डले यो बीचमा हतार हतार केन्द्रीय कमिटि भंग गरे तर, पार्टीे संयोजकको पद अरुलाई दिने आवश्यकता ठानेनन् । अझ त्यसमा पनि माओवादीको जेनजी रेड फोर्स गठन गर्न लगाएर रेड फोर्स मार्फत भन्न लगाएका छन् ः अबको पाँच वर्ष प्रचण्डकै नेतृत्वमा माओवादी । जेनजी आन्दोलनपछि पनि प्रचण्ड र ओलीमा पदप्रतिको आशक्ति अलिकति पनि घटेको देखिदैन । जबकी देउवाले तत्कालका लागि कार्यबाहक सभापतिको जिम्मेवारी अर्कैलाई दिएर आउँदो महाधिवेशनमा आफू सभापति नबन्ने घोषणा लिखित रुपमै गरे । त्यसो त अर्कोपटक सभापति बन्दिनँ भनेर देउवाले अहिले भनेका होइनन् । जेनजी आन्दोलनअघि पनि पटक पटक भनेका थिए । तर, अहिले लिखित रुपमै उक्त कुरा पार्टीको बैठकमा राखेपछि अहिले सामाजिक सञ्जालमा देउवाको हाईहाई हुन थालेको छ ।
आफ्नो घरमा भेटिएको भनिएको पैसाबारे अनुसन्धान गर्न पनि उनले बैठकमा माग गरे । आफैंमाथि अनुसन्धानको माग गर्नु अर्को सकारात्मक पाटो हो ।





