जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा कुशलभ केसीलाई सहकारी मन्त्री बनाउनुपर्ने आवाज उठेको छ । सहकारी पीडितहरुले आफूहरुको समस्या केसीले राम्रोसँग बुझेको र निरन्तर सहकारी पीडितका लागि आन्दोलन गर्दै आएको भन्दै उनलाई मन्त्री बनाउँन माग गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष केसीसँग सहकारी पीडितको समस्या समाधनका विषयमा ठोस योजना समेत रहेको उनीहरुको भनाई छ ।
गत आइतबार मात्रै सहकारी पीडित र जेनजी आन्दोलनका क्रममा घाइते भएका केही व्यक्तिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर केसीलाई मन्त्रिपरिषदमा सहभागी गराउन औपचारिक प्रस्ताव समेत गरिसकेका छन् । देशभरका ३७० भन्दा बढी सहकारीका पीडित अगुवाहरूले हस्ताक्षरसहित सो माग अघि सारेका हुन् ।
पीडितहरूले पटक–पटक सरकार, सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूलाई गुहार्दा पनि न्याय नपाएको उल्लेख गर्दै सहकारी विभागदेखि सञ्चालक तथा शेयरधनीसम्मका सम्पत्ति तत्काल छानबिन गरी अनैतिक आर्जन जफत गरेर पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग समेत दोहो¥याएका छन् । सहकारीको समस्या तत्काल समाधान नगरे फेरि सडक आन्दोलन गर्ने उनीहरुको भनाई समेत रहेको छ ।






