Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

बालेनलाई प्रधानमन्त्रीको पाठ


गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने समाचार छ्याप्छ्याप्ती भएपछि प्रधानमन्त्री कार्कीको सचिवालयले बिहिबार एउटा विज्ञप्ती निकाल्यो । जुन विज्ञप्तीमा समाचारलाई भ्रमपूर्ण भनिएको छ भने यस्ता कुरा नपत्याउँन आग्रह पनि गरिएको छ ।

तर, यो विज्ञप्ती आउँदै गर्दा यतिबेला विभिन्न प्रकारका विश्लेषण भने शुरु भएको छ । विज्ञप्तीको अर्को एक लाइनलाई हेरेर विश्ल्लेषण शुरु भएको हो । त्यो लाइनमा भनिएको छ ः कसैलाई कुनै मन्त्री बनाउँने या हटाउँने भन्ने विषय प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय हो । कसैको दबाब या प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री हटाउँन प्रधानमन्त्री कार्कीलाई भेटेरै दबाब दिए भन्ने कुरा सार्वजनिक भइरहँदा प्रधानमन्त्रीको सचिवालयले यो कुराको खण्डन त गरेको छ । तर, बालेन साह नजिकका मान्छेहरुले गृहमन्त्री हटाउँन भन्दै सामाजिक सञ्जालमा अझै पनि अभियान चलाइरहेका कारण केही हुँदै होइन भनेर पूरापुर पत्याइहाल्ने स्थिती पनि छैन ।

बालेन साहसँग असाध्यै निकट रहेका अर्को शब्दमा भन्ने हो भने बालेन साहको कोर टिममा रहेकाहरुले गृहमन्त्री अर्याल विरुद्ध अभियान चलाइरहेका छन् । उक्त अभियान बालेन साहको चाहना बेगर हो भनेर जो कोहीले पत्याउँदैनन् । अझ त्यसमा पनि बालेन साह निकटका यस्ता व्यक्तिहरुले दबाबमुलक अभियान चलाएका छन् कि जसले गरेको प्रचारप्रसारका कारण उतिबेला बालेन साहलाई चुनाव जित्न मात्रै सजिलो भएन त्यसयताका दिनमा पनि ती व्यक्तिहरु बालेन साहका लागि खम्बा बनेर उभिने गरेका छन् ।

हुन त गृहमन्त्री हटाउँन मलाई बालेन साहले दबाब दिए भनेर प्रधानमन्त्रीले खुलमखुल्ला भन्न सक्ने कुरा पनि भएन । तर, कोही कसैले दिएको दबाब र प्रभावका आधारमा मन्त्री राख्ने या हटाउँने कुरा हुँदैन भनेर सचिवालयमार्फत भन्नु भनेको बालेन साह निकटकाहरुका लागि एउटा गतिलो पाठ हो । बालेन निकटका व्यक्ति जसले बालेन साहको अनुमतिबेगर गृहमन्त्री हटाउ अभियान सामाजिक सञ्जालमा चलाउँन सक्ने कुरै हुँदैन । त्यसैले प्रधानमन्त्रीले सचिवालयमार्फत बालेन साहलाई पनि पाठ पढाएकी हुन् भन्दा फरक पर्दैन ।

बालेन निकटकाहरु जसले कसलाई मन्त्री बनाउँनेदेखि कसका बारेमा सामाजिक सञ्जालमा सरकारबारे कस्तो अभियान चलाउँने सम्मका योजना बुन्दैगर्दा प्रधानमन्त्री कार्कीले प्रष्ट रुपमा तिमीहरु तिम्रो काम गर म मेरो काम गर्छु भनेर नभनेपनि भन्न खोजेको कुरा त्यो भन्दा फरक पक्कै होइन । फलानालाई मन्त्री बनाउँने, फलानालाई हटाउँने भन्ने जस्ता कुरा बालेन निकटकाहरुको हिजोआज दैनिक रुपमा मुख्य गफकै विषय बनिरहेको सुनिन्छ । तर, प्रधानमन्त्री कार्कीले सचिवालयमार्फत विज्ञप्ती निकाल्न लगाएर अनावश्यक काममा ध्यान नदेऊ तिमीहरुले भन्दैमा मान्दिनँ भन्ने पाठ भने बालेन र उनी निकटलाई पढाएकै देखिन्छ । अब यो कुराले बालेन र प्रधानमन्त्री कार्कीको दुरी बढ्न पनि सक्छ । तर, दुरी बढ्दा त्यसले कस्तो असर गर्छ या गर्दैन भनेर हेर्नका लागि भने अबका केहीदिन कुर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार