Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

ठूलो तनावमा बालेन


जेनजी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह निकै ठूलो तनावमा परेका छन् । उनमा राजनीतिक उचाई र बढ्दै गएको लोकप्रियता घट्दै गएको बुझाई एकातिर छ भने अर्कातिर अब नयाँ दल खोलेर जाने या बनिसकेको कुनै दलमा आबद्ध हुने भन्ने अन्यौलता छ ।

जेनजी आन्दोलनमा भएको भौतिक संरचना विध्वंशको आरोप केहीले उनलाई लगाइरहेका छन् भने लुसिफर भन्ने उपमा समेत उनैलाई दिइरहेका छन् । शुरुका दिनमा यी आरोप र उपमाप्रति खासै मतलब नगरेका बालेन पछिल्ला दिनमा भने यीनै विषयले निकै गम्भीर हुन थालेको उनी निकटका व्यक्तिहरुको भनाई छ । सामाजिक सञ्जालमा लेखिएका स्टाटसका कारण कुनैबेला वाहवाही पाएका बालेन यतिबेला एउटा पुरानो स्टाटसले लखेटिन सम्म लखेटिएका छन् । सिंहदरबार जलाइदिने भन्दै कुनैबेला लेखेको आक्रामक स्टाटस बालेनका लागि अहिले आएर घातक बनेको छ । उनले आक्रामक स्टाटस लेख्नु अनि त्यसको केही समयपछि सिंहदरबार लगाएत देशका महत्वपूर्ण भौतिक संरचना जल्नु संयोग मात्रै नभएर विशेष योजना अनुसार भएको भन्नेहरुको कमी छैन । त्यही स्टाटसका आधारमा बालेनलाई पक्राउ गर्नुपर्ने भन्दै प्रहरीकोमा उजुरी समेत पुग्न थालेको छ । हुन त प्रहरीले त्यो पुरानो स्टाटसका आधारमा बालेनलाई समात्छ भन्ने कुरा होइन । तर, नसमातेपनि आफैंले लेखेको त्यो स्टाटसले भने बालेनलाई कालान्तरसम्म पछ्याइरहनेछ । आशंकाको एउटा सुई पछि सम्म बालेनतिर मान्छेहरुले तेस्र्याइरहनेछन् । बालेन निकट व्यक्तिहरुका अनुसार आक्रोशमा लेखिएको त्यो स्टाटसप्रति बालेनलाई अहिले निकै पछुतो छ ।

जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीका रुपमा धेरैले बालेनको नाम लिएका थिए । तर, बालेनले त्यतिबेला प्रधानमन्त्री बन्ने कुरामा खुट्टा कमाएपछि बालेनको प्रशंसामा ताली पिट्नेहरु नै अहिले बालेनका विरुद्धमा उत्रन थालेका छन् । पर्दा पछाडि रहेर मान्छे उचाल्ने तर, अघि सरेर नेतृत्व लिन नसक्ने भन्दै उनको आलोचना खुलमखुल्ला हुन थालेको छ । यो कुराले पनि बालेनको तनावको पारो बढेको छ । सामाजिक सञ्जाल फेसबुकमा कुनै स्टाटस लेख्ने बित्तिकै वाहवाही मात्रै देख्न बानी परेका बालेनका आँखाले अहिले व्यापक आलोचना पनि देख्न परिरहेको छ । आक्रोश र गालीले उनको स्टाटसका कमेन्ट बक्स भरिन थालेका छन् । जसले गर्दा बालेनको तनाव ह्वात्तै बढेको छ ।

अर्को कुरा अहिलेको सरकार बालेनको समर्थनमा बनेको सरकार हो । बालेनले पनि फेसबुकबाट समर्थन गरेपछि सुशीला कार्की प्रधानमन्त्री भएकी हुन् । तर, बालेनको चाहना अनुसार सरकार चलिरहेको छैन । बालेनको चाहना छ, अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओली र त्यतिबेलाका गृहमन्त्री रमेश लेखक तत्कालै पक्राउ परुन् । तर, सरकार उनीहरुलाई पक्राउ गर्ने दिशातर्फ अघि बढिरहेको छैन । अनि केही समयअघि सम्म आफ्नै कानुनी सल्लाहकार रहेका ओमप्रकाश अर्याल अहिले गृहमन्त्री छन् । तर, प्राप्त जानकारी अनुसार उनले बालेनलाई टेरिरहेका छैनन् । यसले पनि बालेनलाई तनाब भएको छ । यसबीचमा बालेनले आफू निकटकाहरु मार्फत गृहमन्त्री हटाऊ अभियान सामाजिक सञ्जालमा चलाए । तर, प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले विज्ञप्ती नै निकालेर कोही कसैको दबाब र प्रभावमा गृहमन्त्री नहटाइने कुरा बतायो । बालेन र उनी निकटकाहरुलाई यो विज्ञप्तीले पक्कै रिंगटा लगाइदियो ।

बालेनलाई अर्को तनाव भनेको दल खोल्ने या के गर्ने भन्ने हो । केहीसमयअघि सम्म उनी आफैं दल खोलेर जाने दृढ योजनामा थिए । तर, जेनजी आन्दोलनपछि आफ्नो लोकप्रियता घटेको ठम्याईसहित उनी बनिसकेको कुनै दललाई सहयोग गरेर अघि जाने कि भन्ने सोचाईमा देखिन्छन् । सोही अनुरुप उनले रास्वपासँगको संवाद पनि भित्री रुपमा अघि बढाए । रास्वपाको नेतृत्व रवि लामिछानेले छाडेर कुलमान घिसिङलाई सभापतिका रुपमा स्वीकार गरे आफू रास्वपामा आउँन तयार रहेको सन्देश पठाए । तर, रास्वपाले बालेनको प्रस्तावमा ठाडै अस्वीकार गरिदिएपछि अब के गर्ने भन्ने अन्यौलता उनमा थपिएको छ । सुमना श्रेष्ठ र निश्चल बस्नेतहरुले खोल्ने तयारी गरिरहेको दल पनि उनका लागि एउटा विकल्प हुने देखिन्छ । जेनजीका विभिन्न समुह मध्ये कुनै एकले खोल्ने दल पनि विकल्प हुन सक्छ । तर, सैद्धान्तिक र वैचारिक दृष्टी कस्तो भन्ने कुरामा बालेनको अन्यौलता अझै पनि कायम रहेका कारण उनमा तनावको मात्रा दिनप्रतिदिन बढ्दै गएको उनी निकटहरु बताउँछन् । तर, जे भएपनि कार्तिकको अन्तिम सम्म दलका रुपमा नै चुनावमा भाग लिने हो भने कि त बालेनले दल खोलिसक्नुपर्नेछ कि त कुनै दलमा आबद्ध हुनुपर्नेछ । नत्र स्वतन्त्र रुपमा चुनाव लड्ने अधिकार सुरक्षित रहेपनि दलका रुपमा स्थापित हुने सम्भावना भने कमजोर बन्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार