कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफू मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन्। माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए।
माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा (एकीकृत समाजवादी)का ३ जना सांसदहरूले समर्थनमा शाही मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री भएकै दिन मन्त्रीपरिषद् विस्तार हुने अनुमान गरिएको भए पनि शाहीले राती साढे आठ बजे एक्लै मुख्यमन्त्रीको शपथग्रहण गरेका थिए।
मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफूसँग राख्न चाहेका छन्। माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने एकीकृत समाजवादीले ३ मन्त्रालयको माग गरेको छ।
कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरूले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो।





