मिराज ढुंगाना जेनजी आन्दोलनसँगै एकाएक चर्चामा रहेका व्यक्ति । जेनजी आन्दोलनअघिसम्म उनी चिनिएका व्यक्ति होइनन् । गरीखान देऊ नामको एउटा सकारात्मक तर, प्रभावका हिसाबले सामान्य अभियान सञ्चालन गरिरहेका व्यक्ति हुन् उनी । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले सामाजिक सञ्जाल नियमनका नाममा प्रतिबन्ध लगाएसँगै उनले जेनजीहरुलाई आन्दोलनका लागि उत्प्रेरित गरे । सुनिए अनुसार जेनजी आन्दोलन अब अघि बढाउँनुपर्छ भनेर उनैले यसको प्रारम्भिक डिजाइन गरे । जेनजीहरुका बैठक बसाले । आन्दोलनको आह्वान गरे । तर, अरुलाई आन्दोलनमा होमेर उनी चाहिँ गुमनाम भए ।
जेनजी आन्दोलनको निम्तो दिएर उनी आन्दोलनभर कहिँ कतै देखिएनन् । दुर्गा प्रसाईँको घरमा गएर भदौ २२ गते फोटो खिचाएयता आन्दोलन सकिएको केहीदिनसम्म उनको नाकमुख देखिएन । कतिपयले उनलाई जेनजी आन्दोलनमा सपोर्ट गरिदिन आग्रह गर्दै दुर्गा प्रसाईँको घरमा गएको आरोप पनि लगाए । तर, पछि उनले त्यो आरोपको खण्डन गरे । आफूले दुर्गा प्रसाईँलाई आन्दोलनमा नआउँन चाहिँ आग्रह गर्दै त्यहाँ गएको बताए । दुर्गा प्रसाईँसँगको उनको सम्बन्ध के कसो भन्ने कुरा उनीहरु नै जानून् । तर, यो विषयले त्यतिबेला चर्चा भने खुबै पाएको थियो ।
उनको शुरुवाती संयोजन रहेको भनिएको जेनजी आन्दोलन २३ गते काठमाडौंमा भयो । तर, उनी आफू आन्दोलनमा देखिएनन् । आन्दोलनको सुरुवातकर्ता भनिएका व्यक्ति नै आन्दोलनमा र त्यसपछिका केहीदिन पनि नदेखिएपछि उनको अवस्थाको विषयमा सामाजिक सञ्जालमा व्यापक खोजी भयो । उनलाई कोही कसैले नियन्त्रणमा लिएको हुन सक्ने आशंका पनि त्यतिबेला नगरिएको होइन । तर, जब माहोल शान्त भयो त्यसपछि भने उनी सार्वजनिक भए । टेलिभिजन अन्तर्वार्तामा देखिँदै उनले आफ्ना सबै कुरा राखे । आन्दोलन अघि माहोल तताउँने त्यसपछि आन्दोलनभर चुपचाप रहने । अनि आन्दोलन सकिएपछि फेरि सार्वजनिक हुने । उनको यो शैलीप्रति मिश्रित प्रतिकृया व्यक्त भए । कतिपयले उनको शैलीलाई भगौडा शैली भने अनि कतिपयले उनको बाध्यात्मक परिस्थितीको उपज भने ।
उनले मिडियामा व्यक्त गरेका प्रतिकृयाका आधारमा उनलाई बौद्धिक छबीको युवा भनेर टिप्पणी गर्नेदेखि उनका विषयमा नकारात्मक टिप्पणी गर्नेको कमी भएन । दिन बित्दै गए । फेरि केही समय उनी गुमनाम जस्ता भए । तर, केही समयपछि उनी पार्टी घोषणा गर्ने भन्दै केही जेनजीहरुका साथमा राजधानीको एभरेष्ट होटेलमा देखिए । एभरेष्ट होटेलमा पत्रकार सम्मेलन गरेर उनले पार्टी खोल्न लागेको जानकारी पनि दिए । त्यो दिनको उनको कार्यक्रमलाई परम्परागत मुलधारका मिडियादेखि नयाँ मुलधारका मिडियासम्मले राम्रो स्थान दिए । तर, पार्टी घोषणा गर्ने जानकारी दिँदै पत्रकार सम्मेलन गरेका मिराज ढुंगाना त्यसपछि फेरि गुमनाम भए । उनको अगुवाईमा पार्टी दर्ता भएको सुनिएन । अरु कोही कसैलाई अघि सारेर पार्टी दर्ता गरेको भए बेग्लै कुरा । अहिले केहीदिनयता फेरि उनी चर्चामा आएका छन् । फागुन २१ का लागि घोषणा गरिएको चुनावप्रति असहमति जनाउँदै चुनावी कार्यक्रम स्थगित गर्न उनले सार्वजनिक रुपमा आह्वान गरेपछि उनी चर्चामा आएका हुन् । उनले यसबीचमा प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव गराउँनुपर्ने माग सहित प्रधानमन्त्रीलाई भेट्न निकै प्रयास गरे । ज्ञापनपत्र लिएर उनी सिंहदरबार गए । तर, सहज रुपमा सिंहदरबार प्रवेशको अनुमति पाएनन् । एकदिन सिंहदरबार गेटको पर्खालमै आफ्ना मागपत्र टाँसेर फर्किए । अर्कोदिन सिंहदरबार गेटबाट प्रहरीको लखेटाईमा परे । प्रहरीले उनलाई सिंहदरबार गेटबाट हटाउँदै बिजुलीबजार पुल नजिक पु¥यायो ।
अहिले सामाजिक सञ्जालमा पनि केही जेनजी अभियन्ताहरुले उनको आलोचना गरेको सुनिन्छ । कतिपयले त उनको शैलीप्रति आशंका व्यक्त गर्दै कसबाट परिचालित भनी प्रश्न समेत सोधेका छन् । आखिर जेनजी आन्दोलनको शुरुवातकर्ता भनिएकै अगुवाको हालत किन यस्तो हुन पुग्यो ? किन उनलाई सरकारदेखि अन्य जेनजी समुह र अभियन्ताहरुले शंकाका नजरले हेर्न थाले ? उनको आफ्नै पारा आफ्नै शैलीका कारण उनी शंकाको नजरमा परे या उनलाई त्यस्तो नजरले हेर्नेहरु पूर्वाग्रही हुन् ? यो यतिबेलाको एउटा गम्भिर प्रश्न हो ।






