Logo
२ जेष्ठ २०८३, शनिबार
|  Sat May 16 2026

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको शुभारम्भ


गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ ।

खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ ।

बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको उक्त लघु जलविद्युत् आयोजनाको विद्युत् खपत नभई खेर गइरहेको अवस्थामा त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो ।

तीन वर्षदेखि सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार