काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (NPABSAN) काठमाडौं जिल्लाको आयोजनामा “विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधनहरू” विषयक एकदिने शैक्षिक कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम काठमाडौंको चावहिलस्थित VS College मा उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो ।
कार्यशालामा काठमाडौं विश्वविद्यालय, School of Education का Coordinator राजेन्द्र दाहालले प्रशिक्षण प्रदान गरेका थिए। उनले आधुनिक शिक्षण प्रणालीमा विद्यार्थी मूल्याङ्कनको बदलिँदो अवधारणा, व्यवहारिक सिकाइ, सीपमा आधारित शिक्षण (Skill Based Learning), निरन्तर मूल्याङ्कन प्रणाली, परियोजना कार्य, प्रस्तुतीकरण, समूहगत अभ्यास, व्यवहारिक परीक्षण तथा सिर्जनात्मक मूल्याङ्कनका विविध विधिबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा NPABSAN सँग आबद्ध ८२ वटा विद्यालयका २०३ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । सहभागीहरूले वर्तमान शिक्षा प्रणालीमा विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न परम्परागत परीक्षा प्रणाली मात्र पर्याप्त नभएको उल्लेख गर्दै यस्ता व्यवहारिक तथा आधुनिक मूल्याङ्कन पद्धतिहरू समयसापेक्ष र अत्यन्त आवश्यक रहेको बताएका थिए ।
NPABSAN केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले कार्यक्रम अत्यन्त उत्साहजनक, उपलब्धिमूलक तथा शिक्षण क्षेत्रका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले बदलिँदो विश्व परिवेशसँगै शिक्षण शैली र मूल्याङ्कन प्रणाली पनि परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
त्यस्तै, NPABSAN काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्काले संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न संस्था सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम, workshop तथा अन्तरक्रियात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले नेपाल सरकारद्वारा अघि सारिएको Skill Based Learning अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न यस्ता प्रशिक्षण अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूले विद्यार्थीलाई केवल परीक्षा केन्द्रित नभई व्यवहारिक, सिर्जनशील, अनुसन्धानमुखी तथा जीवनोपयोगी शिक्षा प्रदान गर्न आधुनिक मूल्याङ्कन पद्धतिहरू प्रभावकारी हुने धारणा राखेका थिए ।
शिक्षा क्षेत्रमा पछिल्लो समय सिकाइ उपलब्धि, व्यवहारिक दक्षता, सिर्जनात्मक सोच र समस्या समाधान क्षमतालाई प्राथमिकता दिन थालिएको अवस्थामा यस्ता कार्यशालाहरूले शिक्षकहरूलाई नयाँ सोच, नयाँ विधि र आधुनिक मूल्याङ्कन उपकरणबारे अद्यावधिक गराउनुका साथै विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।








