काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले कांग्रेस एकताका १० बुँदे सूत्र जारी गरेकाे छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजना एवं नेपाली कांग्रेसका निर्वतमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा २ र ३ जेठमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय बृहत् एकता तथा भावी कार्यदिशा विषयक विचार गोष्ठीपछि कांग्रेस एकताका लागि १० बुँदे सूत्र जारी गरिएकाे हाे ।
खड्कापक्षले पार्टीको १५औँ महाधिवेशनलाई एकताको रूपमा सम्पन्न गर्नुपर्ने माग गरेकाे छ । साथै, सभापति गगनकुमार थापाले शीर्ष नेताहरूसँग संवाद गर्दै समयमै निष्पक्ष र समावेशी महाधिवेशन सुनिश्चित गर्न अग्रसर हुनुपर्ने आग्रह गरिएको छ ।
क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई तत्काल स्थगन गरी सहमतिका आधारमा अघि बढाउनुपर्ने माग खड्का समूहकाे छ । यस्तै, केन्द्रीय अनुशासन समितिबाट देशभरका नेता–कार्यकर्तामाथि गरिएको कारबाही तथा मागिएका स्पष्टीकरण फिर्ता लिएर संगठनमा एकताको वातावरण बनाउन आग्रह गरिएको छ । समावेशी सिद्धान्तअनुसार पार्टी संरचनामा न्यूनतम २५ प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने खड्का पक्षकाे माग छ ।





