गोदावरी । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार वडा नम्बर ३ भित्र एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई वडा कार्यलयले सम्मान गरेको हो ।
कार्यक्रममा वडा अध्यक्ष राज घिमिरेले उत्कृष्ट विद्यार्थीहरूलाई प्रशंसा–पत्र,मायाको चिना तथा खादा ओढाएर सम्मान प्रदान गरेका थिए। वडा अध्यक्ष घिमिरेले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा अझै उच्च लक्ष्य हासिल गर्न प्रेरित गरे। वडाले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको वडा अध्यक्ष राज घिमिरेले बताए ।
शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न वडाले विभिन्न योजना सञ्चालन गरिरहेको पनि उनी बताउँछन। वडा अध्यक्ष घिमिरेले शिक्षा विकास नै समग्र समाजको विकासको आधार भएको उल्लेख गर्दै वडाले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताए। उनले अभिभावक, शिक्षक तथा विद्यालयको संयुक्त प्रयासले विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको धारणा व्यक्त गरे।
वडाध्यक्ष राज घिमिरेले आफ्नो समयमा अध्ययनका लागि कपी–कलम सहज रूपमा नपाउने अवस्थामा सम्मानको त कल्पनै नभएको भन्दै अहिले पाएको अवसर र सम्मानलाई ध्यान दिँदै उज्ज्वल भविष्य निर्माणका लागि क्रियाशील हुन विद्यार्थीहरूलाई आग्रह गरे ।
कार्यक्रममा सम्मानित विद्यार्थीहरूले वडाको यस पहलले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए। साथै, आगामी शैक्षिक यात्रामा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। स्थानीय अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा वडाले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई मात्र नभई उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेलेका विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो । साथै अभिभावकहरूलाई बधाई ज्ञापन गर्दै खादा ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ।वडा कार्यलयले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थी प्रोत्साहन जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





