उपसभामुख रुबीकुमारी ठाकुरले मधेश क्षेत्रमा जरा गाडेर बसेको दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह तथा दाइजो प्रथा उन्मूलन कार्यक्रममा बोल्दै उनले यस्ता कुरीति मधेशबाट मात्र नभई देशभरबाट अन्त्य हुनुपर्ने बताइन्।
उपसभामुख ठाकुरले छोरीलाई बोझका रूपमा हेर्ने लैंगिक विभेदकै कारण बालविवाह हुने गरेको उल्लेख गर्दै मधेश समाजले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने धारणा राखिन्। उनले ‘माता सीताको जन्मभूमिमा छोरी जन्मनु सौभाग्यको विषय हो’ भन्दै छोरी जन्मिँदा दुःखी नहुन अभिभावकलाई आग्रह गरिन्।
उनले दाइजो प्रथा र बालविवाहका कारण वैवाहिक जीवनमा विखण्डन आउने गरेको बताउँदै पछिल्लो समय किशोरकिशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गरिन्। साथै, अभिभावकको सुझावलाई गलत बुझेर विद्रोही बन्न नहुने सुझाव पनि दिइन्।
कार्यक्रममा सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारी ले दाइजो र बालविवाहजस्ता कुरीति लामो समयदेखि मधेशमा कायम रहेको बताइन्। उनले यस्ता सामाजिक विकृति शिक्षाको उज्यालोले मात्र हटाउन सकिने भन्दै छोरीहरूको शिक्षामा जोड दिन आग्रह गरिन्।





