काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।
आइतबार बजेटकाबारेमा पत्रकार सम्मेलन गर्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए ।
बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा २८.५ प्रतिशत मात्र रहेको छ । उनले प्रक्षेपित जिडिपी करिब ७४५८ रहेको उल्लेख गर्दै त्यो तथ्यांक परिस्थितिअनुसार तलमाथि हुन सक्ने बताए । अर्थमन्त्री वाग्लेले पछिल्ला वर्षहरूमा ३० प्रतिशतभन्दा माथिको बजेट आकारको प्रवृत्ति तोड्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरे ।
ऋणसम्बन्धी टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले सार्वजनिक ऋण बढेको तथ्य स्वीकार गरे । यसैगरी उनले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएको बताए । अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए । अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उनले बताए ।
अर्थमन्त्रीका अनुसार यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ । ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको छ । त्यस्तै, उनले तलब वृद्धि २१ प्रतिशत नै भएको उनले दाबी गरे ।
अर्थमन्त्रीले भने, ‘तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस् । झुक्यायो, ढाँट्यो भन्ने कुराहरू आइरहेको छ । त्यस्तो होइन, १० प्रतिशत बेसमै भएको हो । बढेको बेसमा अर्को १० प्रतिशत भएको हो ।’




