झापा । जेन-जी प्रतिष्ठानको आयोजनामा एक दिवसीय प्रथम झापा जिल्ला स्तरीय घाइते तथा सहिद परिवारहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष श्याम अधिकारीको सभापतित्व तथा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख शिवराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्पूर्ण घाइते तथा सहिद परिवारहरूको हक अधिकार स्वास्थ्य शिक्षा रोजगार शान्ति सुरक्षा लगायतको विषयमा छलफल भएको थियो।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका घाइते तथा सहिद परिवारका सदस्यहरूले आफ्नो अनुभव, समस्या तथा सुझावहरू साझा गरेका थिए। राज्यबाट प्राप्त सेवा–सुविधा अझ प्रभावकारी र सहज बनाउन आवश्यक रहेको बताउँदै उनीहरूले स्वास्थ्य, शिक्षा, रोजगारी तथा सम्मानजनक जीवनयापनका विषयमा देखिएका समस्याहरू समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
प्रमुख जिल्ला अधिकारी गेलालले घाइते तथा सहिद परिवारहरूको गुनासोलाई समन्वय गरी जिल्ला प्रशासन कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए । हालसम्म ३८ जनाको मात्र घाइते कार्ड बनेको र १० जनाको वर्गीकरण भई आइसकेको कार्यक्रममा जानकारी दिईएको छ।
प्रतिष्ठानका अध्यक्ष अधिकारीले यस्ताखाले कार्यक्रमले घाइते तथा सहिद परिवारहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै उनीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी गराए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दाक्सी शेर्पा,जिल्ला समन्वय समितिका प्रशासन शाखा अधिकृत डोलप्रसाद दाहाल,गोरखा पोलब्रेक सङ्घका केन्द्रीय अध्यक्ष उद्धव नारायण श्रेष्ठ, जेन जी युनाइटेड मोमेन्ट झापा जिल्ला संयोजक अन्जना राई, सामाजिक अभियन्ता शितल सिंह कार्की,जेन जी अगुवा तथा झापा जिल्ला घाइते समन्वय कर्ता मनोज कडरिया, जेन जी प्रतिष्ठानका बोर्ड सदस्य करुणा दाहाल लगायत जेन जी घाइते तथा सहिद परिवारहरूको उपस्थिति रहेको थियो।





