Logo
१ असार २०८३, सोमबार
|  Tue Jun 16 2026

अमेरिका-इरानबीच युद्धविराम सम्झौता,स्विट्जरल्यान्डमा शुक्रबार सम्झौतामा हस्ताक्षर हुने


बीबीसी । अमेरिका र इरानले आफूहरूबीच जारी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको घोषणा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता भएको बताएका छन्।

उनका अनुसार लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ । इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन् ।

शहबाज शरिफका अनुसार उक्त सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने छ । सम्झौतामा समावेश भएका विषयहरूबारे अझै स्पष्ट हुन बाँकी छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि ‘तेलको आपूर्ति पुनः सुरु हुने’ बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने पनि बताएका छन् ।

युद्ध अन्त्यका लागि सहमति भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । सम्झौतासँगै होर्मुज जलमार्ग पनि खुला हुने बताइएको छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए।

जवाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरेको थियो ।

सहमतिका समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको विवरण आएका छन् । अमेरिका र इरानबीच गत अप्रिलमा दुई हप्ताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार