Logo
९ असार २०८३, मंगलवार
|  Tue Jun 23 2026

विश्वकपमा नर्वे र अर्जेन्टिना विजयी,फ्रान्स नकआउट चरणमा


काठमाडौं । फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेलमा नर्वे विजयी भएको छ । सेनेगललाई ३–२ पराजित गर्दै नर्वे विजयी भएको हो ।

नर्वेको जितमा एर्लिङ हलाण्डले दुई गोल गरे भने मार्कसले १ गोल गरे । हलाण्डले खेलको ४८ औँ ५८ औँ मिनेटमा गोल गरेका थिए । विश्वकपका हालसम्मका खेलमा हलाण्डले चार गोल गरेका छन् । यस्तै, मार्कसले ४३ औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै, सेनेगलका लागि इसामेल सारले २ गोल गरे । उनले खेलको ५१ औँ मिनेट र इन्जुरी टाइममा गोल गरेका थिए । नर्वेले पहिलो खेलमा इराकलाई ४–१ ले पराजित गरेको थियो । सेनेगल फ्रान्ससँग भने ३–१ ले पराजित भएको थियो ।

यसैगरी, लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी भएको छ । अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २–० ले विजयी भएको हो ।मेस्सीले खेलको ३८ औँ र इन्जुरी टाइममा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले जर्मनीका स्ट्राइकर मिरास्लोभ क्लोजको १६ गोलको रेकर्डलाई भंग गरेका हुन् ।

अष्ट्रियासँगको खेलमा दुई गोल गरेसँगै विश्वकपमा मेस्सीको गोलसंख्या १८ पुगेको छ । खेलको चौथो मिनेटमा अष्ट्रियाले फाउले गर्दा मेस्सीले पनोल्टीको मौका पाएका थिए । उनले प्रहार गरेको बल बाहिरिएको थियो ।

यसअघिका खेलमा अर्जेन्टिना अल्जेरियासँग ३–० ले विजयी भएको थियो । जितसँगै तालिकामा ६ अंक जोड्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

यस्तै, समूह ’आई’ को खेलमा फ्रान्सले इराकलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ । फिलाडेल्फिया स्टेडियममा मंगलबार बिहान भएको खेलमा जित हात पार्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने निश्चित भएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार