नेपाल रेडक्रस सोसाइटीले दलका कार्यकर्ताहरुलाई रेडक्रसको सांगठनिक संरचनाबाट अलग हुन आग्रह गरेको छ । रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका तर्फबाट सोमबार विज्ञप्ती जारी गर्दै कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनहरुमा सक्रिय रहेका आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई तत्काल पदबाट अलग हुन आग्रह गरिएको हो ।
नेपाल रेडक्रसमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बन्दै गएको र यसले गर्दा विभिन्न सरोकारवालाहरूबाट नकारात्मक टिप्पणीहरू समेत हुन थालेको विज्ञप्तीमा उल्लेख छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको वैधानिक निकायले समेत नेपाल रेडक्रसलाई प्रतिबन्ध लगाउनेसम्मको नीति अख्तियार गरेपछि संस्थाले आफ्नो विधानलाई कडाइका साथ लागू गर्न लागेको जनाइएको छ । यो आग्रहलाई बेवास्ता गरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधान बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।






