रोयटर्स । अमेरिकी र इजरायली हवाई आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको पार्थिव शरीर शुक्रबार तेहरानमा सर्वसाधारणको श्रद्धाञ्जलीका लागि राखिएको छ । खामेनेईको सम्मानमा इरानले साताव्यापी राष्ट्रिय अन्त्येष्टि कार्यक्रम सुरु गरेको हो।
तेहरानस्थित विशाल प्रार्थना सभाहलमा राखिएको पार्थिव शरीरमा धर्मगुरु, सरकारी अधिकारी, विभिन्न देशका उच्च प्रतिनिधि तथा हजारौं नागरिकले श्रद्धाञ्जली अर्पण गरेका छन्। बिहीबार राति सार्वजनिक गरिएको शवपेटिकामा फूल चढाउँदै समर्थकहरूले शोक व्यक्त गरेका थिए।
खामेनेईको पार्थिव शरीरलाई इरानको धार्मिक सहर कोम तथा इराकका सिया धर्मावलम्बीका प्रमुख तीर्थस्थल नजाफ र कर्बला लगिने कार्यक्रम छ। अन्तिम संस्कार भने आगामी बिहीबार इरानको पवित्र सहर मशहदमा गरिनेछ। इरान सरकारले आगामी केही दिनमा हुने अन्त्येष्टि यात्रामा लाखौं नागरिक सहभागी हुने अपेक्षा गरेको छ। त्यसका लागि निःशुल्क यातायात, भोजन तथा आवासको व्यवस्था गरिएको छ।
खामेनेईको अन्त्येष्टि इस्लामिक गणतन्त्र इरानका लागि संवेदनशील राजनीतिक समयमा भइरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्ध, आर्थिक संकट र आन्तरिक असन्तुष्टिका बीच सरकारले अन्त्येष्टिलाई राष्ट्रिय एकता र जनसमर्थनको प्रदर्शनका रूपमा प्रस्तुत गरेको छ।
तेहरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्य सडकहरूमा सेना र प्रहरी तैनाथ गरिएका छन् भने बासिज अर्धसैनिक बलले पनि गस्ती बढाएको छ। इरानले अन्त्येष्टिका क्रममा कुनै पनि आक्रमण नगर्न अमेरिका र इजरायललाई चेतावनी दिएको छ।
समारोहमा रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभ, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, चीनका उच्च प्रतिनिधि हे वेई तथा इराकका राष्ट्रपति निजार आमेदीलगायत विदेशी नेता तथा अधिकारीहरू सहभागी भएका छन्। इजरायली आक्रमणमा मारिएका हिज्बुल्लाह नेता हसन नसरल्लाह र वरिष्ठ कमाण्डर इमाद मुग्नियेहका परिवारका सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए।
इरानका राष्ट्रपति, संसद् सभामुख, परराष्ट्रमन्त्री तथा अन्य शीर्ष नेताहरूले पनि खामेनेईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीसँगै मारिएका परिवारका सदस्यहरूको शवपेटिका पनि सँगै राखिएको छ।
इस्लाम धर्मअनुसार मृत्यु भएको एक दिनभित्र अन्तिम संस्कार गरिने परम्परा रहे पनि युद्धका कारण सुरक्षा जोखिम बढेकाले अन्त्येष्टि कार्यक्रम केही समयका लागि स्थगित गरिएको थियो। गत महिना भएको अन्तरिम युद्धविरामपछि मात्र अन्त्येष्टिको मिति तय गरिएको हो।




