काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्न सरकार प्रयासरत् रहेको बताएका छन् ।
शनिबार राष्ट्रियसभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
‘हामीले काम गर्न सकेनौं भने हामी ब्ल्याक लिस्टतिर झर्दछौं । ब्ल्याक लिस्टमा झर्नु भनेको बाँकी दुनियाँको वित्तीय सम्बन्ध टुट्नु हो । प्रत्यक्ष विदेशी लगानी भित्र्याउनु छ, हाम्रो अन्तर्राष्ट्रिय विश्वासनियता माथि उकास्नु छ,’ उनले भने, ‘सुशासनका नियमित काम नगरी राजकाजमा चुक्दा हामी हाइटी, सोमालिया जस्ता मुलुकको दर्जामा झर्ने जोखिम बढ्दैगएको छ ।’
उनले २०८१ देखिको कलंक मेटाउन धेरै प्रयास गरिरहेको टिप्पणी गरे । ‘०८१ फागुनदेखिको यो कलंक हामी मेटाउन खोज्दैछौं,’ उनले भने ।





