People arrive for an Independence Day event honoring the nation’s 250th anniversary, Saturday, July 4, 2026, on the National Mall in Washington. (AP Photo/Alex Brandon)
रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीष्मकालीन आँधीबेहरीका कारण कार्यक्रम प्रभावित हुने सम्भावना रहे पनि अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस समारोहका अवसरमा नेसनल मलमा तय गरिएको आफ्नो सम्बोधन कुनै पनि अवस्थामा हुने बताएका छन्।
आँधीबेहरीको जोखिम बढेपछि ट्रम्पले सम्बोधन गर्ने तयारी गरिएको वासिङ्टन मनुमेन्ट आसपासको क्षेत्र खाली गराउन सुरक्षा अधिकारीहरूले निर्देशन दिएका थिए। तर समारोह आयोजक ‘फ्रिडम २५०’ले दर्शकलाई पुनः प्रवेश गराइने र ट्रम्पले स्थानीय समयअनुसार राति ११ बजे सम्बोधन गर्ने जनाएको छ। यो समय यसअघि तय गरिएको तालिकाभन्दा एक घण्टा ढिलो हो।
ट्रम्पले सामाजिक सञ्जालमार्फत, ‘म जुनसुकै अवस्थामा पनि त्यहाँ हुनेछु। शनिबारको रात हो, रमाइलो गरौँ, चाहे आज राति अबेरसम्म किन नहोस्,’ लेखेका छन्।
समारोहमा सहभागी हुन आएका हजारौँ दर्शकले कडा सुरक्षा जाँच र ३९ डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीका बीच घण्टौँ प्रतीक्षा गरेका थिए। रेकर्डस्तरको गर्मीका कारण वासिङ्टन क्षेत्रमा आयोजना गरिने केही परेड तथा अन्य सार्वजनिक कार्यक्रम रद्द गरिएका छन्।
यसैबीच, श्वेत राष्ट्रवादी संगठन ‘प्याट्रियट फ्रन्ट’का सदस्यहरू पनि समारोहमा सहभागी भएका छन्। उक्त समूहले सामाजिक सञ्जालमार्फत आफूहरू राजधानी पुगेको जनाएको छ भने समूहको पोशाक लगाएका सयौँ व्यक्ति मेट्रो रेलमार्फत वासिङ्टन पुगेका थिए। स्थानीय प्रहरीले भने हालसम्म कुनै हिंसात्मक घटनाको सूचना प्राप्त नभएको जनाएको छ।
अमेरिकामा विगतका राष्ट्रपतिहरूले सामान्यतया जुलाई ४ का समारोहमा प्रत्यक्ष सहभागिता जनाउने गरेका थिएनन्। तर ट्रम्पले सरकारी समारोहलाई चुनावी शैलीका राजनीतिक गतिविधिसँग जोड्दै आएको टिप्पणी भइरहेका बेला यसपटकको उपस्थितिलाई पनि त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।





