काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजना हुने पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन आइतबार अमेरिका प्रस्थान गरेका छन् ।
उनीसँगै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (एआईजीपी) नारायणदत्त पौडेल तथा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा पनि सम्मेलनमा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले बिदाइ गरेका थिए ।
संयुक्त राष्ट्रसंघको आयोजनामा हुने उक्त सम्मेलनमा विश्वभरका प्रहरी प्रमुखहरूले शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तथा समकालीन सुरक्षा चुनौतीबारे अनुभव आदानप्रदान र छलफल गर्ने कार्यक्रम रहेको छ।





