काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा उनले नियम पालना गर्ने विषयमा विभेद भए लोकतन्त्र अराजकतामा जाने चेतावनी दिएका हुन् ।
उनले सदन पनि विस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भएको बताए। सभामुखले संविधान र नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने उनले बताए ।
उनले भने,‘लोकतन्त्रमा नियम मान्नुपर्छ। एक थरीले मात्रै नियम मान्ने र अर्को थरीले नमान्ने अवस्था आयो भने त्यसले अराजकता निम्त्याउँछ।’
अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोगप्रति पनि चिन्ता व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रीलाई गाली गर्ने व्यक्तिमाथि कारबाही हुने तर सांसदलाई धम्की दिने व्यक्तिमाथि समान कारबाही नभएको भन्दै उनले प्रश्न उठाए।
उनले आफूलाई समेत ज्यान मार्ने र घर जलाइदिने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएको तर कारबाही नभएको बताए। सबै दलका नेता तथा कार्यकर्ताले अभिव्यक्तिको मर्यादा कायम राख्न सचेत हुनुपर्ने उनको आग्रह थियो।




