काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार पार्टी प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गरी राज्यका निकायको असंवेदनशील व्यवहारका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको दाबी गरेका छन् । पार्टीले दिवंगत नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
पार्टीले लोकतान्त्रिक मुलुकमा यस्तो घटना हुनु राज्यको चरित्र र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठ्ने विषय भएको जनाएको छ। आत्मदाहको प्रयासपछि पनि उनको जीवन रक्षा र मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायबाट बल प्रयोग, जरिवानाको दबाब, धम्की तथा घिसारेर हिँडाउनेजस्ता अमानवीय व्यवहार भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ। निधनपछि पनि घटनाको वास्तविकता सार्वजनिक नगरिएको भन्दै पार्टीले त्यसप्रति आपत्ति जनाएको छ।
विज्ञप्तिमा राज्य र नागरिकबीचको अपनत्व कमजोर बन्दै गएको तथा नागरिकका पीडा, संवेदना र आवाजप्रति राज्य संवेदनशील हुन नसक्दा गणेश नेपालीजस्ता नागरिक चरम कदम चाल्न बाध्य भएको उल्लेख गरिएको छ। साथै हजारौं सुकुम्बासी, भूमिहीन, श्रमिक र विपन्न नागरिक कष्टकर जीवन बिताउन बाध्य रहेको पनि पार्टीको भनाइ छ।





