कतार । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन भएको छ। कतार सरकारले आइतबार विज्ञप्ति जारी गर्दै सन् १९९५ देखि २०१३ सम्म देशको नेतृत्व गरेका शेख हमदको निधन भएको पुष्टि गरेको हो ।
अमिरको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा राष्ट्रले पूर्व अमिरको निधनबाट ठूलो क्षति बेहोरेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शेख हमदलाई आधुनिक कतारका प्रमुख निर्माता मानिन्छ।
उनको नेतृत्वमा कतारले तीव्र आर्थिक विकास गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावशाली राष्ट्रका रूपमा आफूलाई स्थापित गरेको थियो ।
सन् १९९५ को जुनमा विदेश भ्रमणमा रहेका आफ्ना पिता अमिरलाई रक्तपातविहीन सत्ता परिवर्तनमार्फत हटाएर उनले शासनको बागडोर सम्हालेका थिए। त्यतिबेला सीमित स्रोतसाधन र कमजोर आर्थिक अवस्थाको कतारलाई उनले विश्व मञ्चमा प्रभावशाली मुलुकका रूपमा रूपान्तरण गरेका थिए ।
उनकै शासनकालमा सन् १९९६ मा अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिरा स्थापना गरिएको थियो, जसले विश्व सञ्चार क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेको छ । सन् २०१३ को जुनमा शेख हमदले स्वेच्छाले पद त्याग गर्दै सत्ता आफ्ना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए।
हालको अरब विश्वको इतिहासमा यो दुर्लभ स्वेच्छिक सत्ता हस्तान्तरणका रूपमा हेरिन्छ । करिब ३० लाख जनसंख्या रहेको कतार सन् १९७१ सम्म ५५ वर्ष बेलायती संरक्षित राज्य थियो । १९औँ शताब्दीको मध्यदेखि देशमा अल थानी राजपरिवारको शासन कायम छ।




