Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

वर्षाका कारण सडक यात्रामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै सडकमार्गबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्ने सबै सवारीसाधन र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागले सम्भावित भारी वर्षा हुने क्षेत्रका लागि जारी गरेको ‘रेड अलर्ट’लाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे यकिन जानकारी लिन अनुरोध गरिएको छ ।

सूचनाअनुसार काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा बाहिरिने नाकाबाट सञ्चालन हुने सार्वजनिक तथा निजी सबै प्रकारका सवारीसाधनका सवारीधनी, चालक, सहचालक र यात्रुले विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।

विगतका वर्षहरूमा रातिको समयमा बाढी र पहिरोका कारण गम्भीर क्षति भएको अवस्थालाई दृष्टिगत गर्दै सम्भावित भारी वर्षा हुने दिनमा विशेषगरी रातिको यात्रा गर्दा थप सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
साथै, सडकको कुनै खण्डमा अवरोध भए–नभएको यकिन जानकारी प्रहरी प्रशासनबाट लिएर मात्र यात्रा गर्न तथा सडक अवरुद्ध भएमा यात्रुलाई खाना, पानीको व्यवस्था मिलाउन र बाढी तथा पहिरोबाट सुरक्षित स्थानमा मात्र रोक्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार