भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार दिल्लीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको अनियमितताको विरोधमा संसद् भवनतर्फ मार्च गर्न खोज्ने ‘कक्रोच जनता पार्टी’ का हजारौं समर्थकहरूलाई तितरबितर पार्न सुरक्षा बलले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
प्रहरीले अनुमति नदिए पनि ‘संसद् चलो’ मार्चका लागि ठूलो सङ्ख्यामा युवाहरू जन्तरमन्तरमा भेला भएका थिए । उनीहरूले एनइइटी परीक्षामा भएको धाँधलीको छानबिन र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका थिए ।
प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि भएको झडपमा केही प्रदर्शनकारी र प्रहरी अधिकारीहरू सामान्य घाइते भएका छन् ।
मध्य दिल्लीका केही भागमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको थियो । यता, सीजेपीले आफ्ना समर्थकहरूलाई शान्त रहन र शान्ति र प्रेमका माध्यमबाट मात्र जित हासिल हुने भन्दै संयमित हुन अपिल गरेको छ।





