Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

संवादका माध्यमबाट डा. केसीसँग यथाशिघ्र सहमतिमा पुग्छौँ:शिक्षामन्त्री पोखरेल


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ । सरकारले वार्तामार्फत डा. केसीको अनसनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।

मन्त्री पोखरेलले वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले शिक्षा सचिव पौडेल धनगढी पुगेको जानकारी दिँदै सहमतिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्री पोखरेलले भनेका छन्, ‘डा. गोविन्द केसीज्यूसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले आज शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव श्री चूडामणि पौडेलज्यू धनगढी पुग्नुभएको छ । हिजो बेलुकै मैले डा. गोविन्द केसीज्यूसँग टेलिफोनमार्फत संवाद गरेको थिएँ। सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिवज्यू उहाँसँग प्रत्यक्ष संवादका लागि धनगढी पुग्नुभएको हो । यसक्रममा, भोलि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालज्यू तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवज्यू पनि धनगढी पुगेर संवादमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । सरकार संवादका माध्यमबाट यस विषयको यथाशिघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध छ।’

डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औं सत्याग्रहमा बसेका हुन् । केसीले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन थाल्नुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार