Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको अध्यक्षमा पुन: पासाङ तामाङ निर्वाचित


काठमाडौं। राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको अध्यक्षमा पुनः पासाङ तामाङ निर्विरोध निर्वाचित भएका छन्।

शनिबार सम्पन्न शाखाको १० औं साधारणसभाले संस्थाको वार्षिक गतिविधि तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गर्दै नयाँ नेतृत्व समेत सर्वसम्मत रूपमा चयन गरेको छ। आगामी दुई वर्षका लागि भएको बौद्ध शाखा कार्यसमितिको निर्वाचनमा पासाङ तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्दै निर्वाचन अधिकृत अधिवक्ता हरिचन्द्र भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए।

शाखाकाे उपाध्यक्षमा चन्द्रमाया लामा,नावाङ्ग लामा र वाङ छिरी शेर्पा छन् भने सचिवमा सार्की शेर्पा, सह-सचिवमा किशोर तामाङ र कोषाध्यक्षमा थुप्तेन टासी लामा चयन भएका छन् । यसैगरी,सदस्यहरूमा तेन्जीन शेर्पा, नवीता थापा,सुमिना गुरुङ,निमा लामु शेर्पा, पेम्बा शेर्पा र फुर्वा शेर्पा निर्वाचित भएका छन् ।

कार्यक्रमका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा पटक–पटक सफलतापूर्वक आरोहण गरी नेपालको गौरव बढाएका राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका आजीवन सदस्यहरू चेङा छिरिङ शेर्पा, आङबाबु शेर्पा, दावा टसी शेर्पा र पासाङ लामालाई उनीहरूको ऐतिहासिक, साहसिक तथा कीर्तिमानी योगदानको उच्च मूल्याङ्कन गर्दै विशेष कदर–सम्मान अर्पण गरिएको थियो।

प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका अध्यक्ष भवानी प्रसाद खरेलले मानव अधिकार प्रत्येक व्यक्तिको जन्मसिद्ध तथा अहरणीय अधिकार भएको बताएका छन्। उनले मानव सभ्यताको विकासक्रमसँगै मानव अधिकारका अवधारणाहरू पनि क्रमशः विकसित हुँदै आएको उल्लेख गर्दै समाजमा विद्यमान सबै प्रकारका विभेद, असमानता र अन्यायको अन्त्य हुनुपर्नेमा जोड दिए। मानव अधिकारको संरक्षण, प्रवर्द्धन र कार्यान्वयनबाट मात्र समान, न्यायपूर्ण र सभ्य समाज निर्माण सम्भव हुने उनको भनाइ थियो।

अध्यक्ष खरेलले मानव अधिकारको सम्मान र संरक्षणका लागि राज्य, सरोकारवाला निकाय तथा नागरिक सबैको समान जिम्मेवारी रहेको उल्लेख गर्दै मानव अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे। यस्तै, मानव अधिकारको संरक्षण, सामाजिक न्याय र नागरिक अधिकारको सुनिश्चितताका लागि प्रतिष्ठानका सबै शाखाहरू सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष खरेलले नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

यसैगरी, सल्लाहकार एवं अधिवक्ता हरिचन्द्र भट्टराईले लोकतन्त्र, मानव अधिकार, शान्ति र सुशासनका विविध पक्षबारे प्रशिक्षण तथा विचार व्यक्त गरेका थिए। उनले मानव अधिकारको संरक्षण, नागरिक सचेतना अभिवृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका अझ प्रभावकारी बनाउन सबै सदस्य तथा सरोकारवालाले सक्रिय रूपमा योगदान दिनुपर्नेमा जोड दिएका थिए ।

बौद्ध शाखाका सचिव सार्की शेर्पाले सञ्चालन गरेकाे कार्यक्रममा, छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष हरि बहादुर वल, नेपाल घिसिङ समाजका महा-सचिव दिपक घिसिङ, केन्द्रीय समितिका महासचिव घमान तामाङ, केन्द्रीय समितिका सदस्य अनुराधा जोशी, लुम्वनी प्रदेश समितिका सचिव जितेन्द्र प्रसाद बन्जाडे (राजु), काठमाडौ जिल्लाका अध्यक्ष सन्तोष पन्त,ललितपुर जिल्लाका अध्यक्ष मदनमान मर्हजन, भक्तपुर जिल्ला अध्यक्ष प्रा.डा.इरा शर्मा, बौद्ध शाखाका उपाध्यक्षहरु सुरेश घिसिङ, चन्द्रमाय लामा, केन्द्रीय परिषद सदस्य सोनाम याङजी शेर्पा, आजीवन सदस्य नविता थापा, प्रतिष्ठानका आजीवन सदस्यहरु पर्वतारोही दावा शेर्पा लगायतले मन्तव्य राखेका थिए  ।

यसैगरी,उक्त कार्यक्रममा प्रतिष्ठानको सामाजिक अभियानमा निरन्तर रुपमा विभिन्न माध्यमबाट महत्वपूर्ण योगदान गरेका प्रतिष्ठानका सदस्यहरु पासाङ तामाङ, चन्द्रमाया लामा, वाङ छिरी शेर्पा, नविता थापा, छिरिङ निमा, ङवाङ लामा, रिन्छेन शेर्पा, तेन्जी शेर्पा, किशोर तामाङ, फुर्वा शेर्पा, सुमिता गरुङ, थुप्तेन टासी लामा, सुरेश घिसिङ, सार्की शेर्पा, नावाङ डोल्मा, र संजिव गुरुङलाई सम्मान गरिएको थियो भने पर्वतारोही कान्छी डोल्मा ह्योल्मोलाई प्रतिष्ठानको आजीनव सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष पासाङ तामाङले शाखालाई अझ सक्रिय, प्रभावकारी र जनमुखी बनाउँदै मानव अधिकार संरक्षण, सचेतनामूलक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय तथा शाखास्तरीय पदाधिकारी, आजीवन सदस्य, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा मानव अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार