काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । क्यान्सरसँग जुधिरहेका श्रेष्ठको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उनी ८३ वर्षका थिए ।
उनी प्याङक्रियाजको क्यान्सरबाट पीडित थिए । प्याङक्रियाजमा अघिल्लो वर्षदेखि नै समस्या देखिएपछि नर्भिक, धुलिखेल अस्पतालमा उपचारपछि अघिल्लो वर्ष श्रेष्ठको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भएको थियो । उनलाई क्यान्सरमा किमो दिइएको थियो । तीन महिना उपचारपछि उनी स्वदेश फर्किएका थिए ।
तर त्यसपछि उनी क्रमशः थला पर्दै गएका थिए । श्रेष्ठले कांग्रेसको कार्यवाहक सभापति, उपसभापति भएर काम गरेका थिए । राजाको प्रत्यक्ष शासनमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई जेल हाल्दा श्रेष्ठले नै पार्टी चलाएका थिए ।
उनी कांग्रेसका पुरानामध्येका नेता हुन् । गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा श्रेष्ठले भृकुटीमण्डपमा गरेको भाषण निक्कै चर्चित भएको थियो ।
हालै कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए । थापाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए । तर बैठक बस्नुअघि नै श्रेष्ठको निधन भएको छ ।





