कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
बुधबार नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो ।
मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ गैडहवा बस्ने पैदलयात्री १२ वर्षीय आनन्द कश्यप तथा साइकलयात्रीहरू महाराजगञ्ज नगरपालिका–३ गनौरिया निवासी करिब ४५/४६ वर्षीय विजयकुमार गुप्ता र महाराजगञ्ज नगरपालिका–३ निवासी करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन् ।
दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।दुर्घटनापछि ट्रक र चालक जिल्ला मोरङ, विराटनगर महानगरपालिका–४ बस्ने ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ । घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ ।





